खबर

सिसिएमसी संवैधानिक नभएकाले खारेज गर्न माओवादी केन्द्रको माग

Ratopati News,६ जेष्ठ २०७८

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले कोरोना नियन्त्रणका लागि सरकारले गठन गरेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) खारेज गर्न माग गरेको छ ।

माओवादी पार्टी कार्यालय पेरिसडाँडामा बिहीबार बसेको माओवादी स्थायी कमिटी बैठकले सिसिएमसी संवैधानिक नभएकाले खारेजीको माग गर्ने निर्णय गरिएको माओवादी स्थायी कमिटी सदस्य वर्षमान पुन‘अनन्त’ले जानकारी दिए ।

विपत सम्बन्धि घटनाहरु हेर्नका लागि गृह मन्त्रालयमा कानुनी व्यवस्थासहितको निकाय रहेको र स्वास्थ्य जोखिम सम्बन्धि निकायलाई पनि काम गर्न नदिएको भन्दै कानुनी हैसियत नभएको सिसिएमसीलाई खारेज गरिनुपर्ने माओवादीको ठहर रहेको उनले बताए ।

माओवादी केन्द्रले देशव्यापी कोभिड १९ प्रतिरोधी अभियान घोषणा गर्ने भएको छ। केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को नेतृत्व रहने अभियान प्रदेश, पालिका र वडासम्म सक्रिय रहने जनाइएको छ।

बैठकले कोभिड प्रतिरोधी अभियान घोषणा गर्ने निर्णय गरेको हो। शुक्रबार अभियानको घोषणा गरिने माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुन (अनन्त)ले जानकारी दिए।

नेता पुनका अनुसार केन्द्रमा अध्यक्ष प्रचण्डको नेतृत्वमा अभियान घोषणा गरेर ५ दिन भित्रै सातवटै प्रदेश तथा सबै स्थानीय तह र वडाहरुमा कोभिड प्रतिरोधी युनिट गठन गरिने छ।

माओवादीको कोभिड प्रतिरोधी युनिटमार्फत कोभिड १९ को रोकथाम, नियन्त्रण तथा राहात वितरणका लागि स्वयंसेवकहरु परिचालन हुनेछन्। स्वयंसेवक परिचालनका लागि पार्टीका जनप्रतिनिधि (संघीयदेखि स्थानीय), पार्टी कमिटीका सबै सदस्य र सभेच्छुकहरुबाट आर्थिक सहयोग संकलन गरिनेछ।

सरकारले गठन गरेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) उपयुक्त नभएको पनि माओवादीले निर्णय गरेको छ। एमसीसी खारेज गरी कोभिड १९ नियन्त्रणका लागि प्रधानमन्त्रीको नेतृत्वमा सर्वदलीय, सर्वपक्षीय संयन्त्र बनाउन माग गर्ने निर्णय भएको पनि पुनले बताए।

पहिलो चरणको कोरोना महामारीपछि सरकारले आवश्यक तयारी गर्न नसकेको र प्रयाप्त समन्वय गर्न नसकेकाले अध्यक्ष प्रचण्डको नेतृत्वमा शुक्रबार प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइने पुनले बताए ।

सरकारले स्वास्थ्य तथा सहयोग सामग्री वितरणमा लापरवाही गरेको, आफ्नो पार्टी र आफ्नो मान्छेलाई मात्रै वितरण गरेको देखिएकाले त्यसको छानबिन गर्न माग गर्ने निर्णय भएको पनि पुनले बताए।

प्रधानमन्त्रीको नेतृत्वमा सर्वदलिय सर्वपक्षीय संयन्त्र बनाएर कोरोनासँग जुध्न परिचालन गरिनुपर्ने बैठकको निष्कर्ष रहेको उनले जानकारी दिए । त्यस्तै, माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा कोरोनासँग जुध्न बनाइएको कमिटी र अन्य नीति तथा अभियान शुक्रबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरिने उनले बताए ।

बैठकले पार्टीका केन्द्र, प्रदेश र स्थानीय कमिटीलाई कोरोना रोकथाम र नियन्त्रणका लागि अझै क्रियाशील बनाउने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button