असार १९, २०७८
एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत पहिलो क्वाटरफाइनलमा स्विट्जरल्यान्डलाई पराजित गर्दा टाइब्रेकरमा दुई पेनाल्टी विफल पारेका स्पेनका गोलरक्षक उनाइ सिमोन ‘स्टार अफ द म्याच घोषित भएका छन् ।
निर्धारित समयको खेल र अतिरिक्त समय १-१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा १० खेलाडी सम्मिलित स्विट्जरल्यान्डको दुई प्रहार स्पेनी गोलरक्षक सिमोनले बचाएपछि स्पेन अन्तिम चारमा पुगेको हो । स्विट्जरल्यान्डका गोलरक्षक सोमरले खेल अवधिभर एकपछि अर्को बचाउ गर्दै टाइब्रेकरमा पनि १ प्रहार बचाएका थिए ।
टाइब्रेकरमा स्पेनका लागि कप्तान सर्जियो बुस्केट्सले पहिलो प्रहार नै पोस्टमा प्रहार गरेका थिए । गोलरक्षक सोमरले विपरित दिशामा डाइभ दिएपनि बुस्केट्सको प्रहार गोल हुन सकेन । स्विट्जरल्यान्डका मारियो गभ्रानोभिचले पहिलो पेनाल्टीमा गोल गर्दै टोलीलाई अघि बढाएका थिए । स्पेनका ड्यानी ओल्मोले दोस्रो प्रहारमा गोल गरेपछी फाबियन सेरको प्रहारलाई गोलरक्षक उनाइ सिमोनले बचाए । सेरले दायाँतर्फ गरेको प्रहारलाई सिमोनले सहजै बचाए ।
स्पेनका लागि तेस्रो प्रहार गर्न आएका रोड्रीको पेनाल्टी विफल पार्दै सोमरले स्विट्जरल्यान्डलाई पुन: अघि बढ्ने अवसर दिए । तर म्यानुएल अकान्जीको प्रहारलाई सिमोनले अघिल्लो बचाऊझैं दायाँतर्फ नै डाइभ दिँदै खेल बराबरीमा राखे । जेरार्ड मोरेनोले स्पेनका लागि चौथो प्रहार टप कर्नरमा गोल गरेपछि स्पेन अघि बढ्यो । चौथो प्रहारमा स्विस टोलीका रुबेन भार्गासको प्रहार बाहिरीपछि स्पेनले खेल जित्ने अवसर पाएको थियो ।
मिकेल ओयाराज्बलले पाँचौ पेनाल्टीमा गोल गर्दै स्पेनलाई अन्तिम चारमा प्रवेश गराए । उनको प्रहारमा गोलरक्षक सोमर विपरित दिशामा डाइभ दिएपछि स्पेन खेल जित्न सफल रहयो । अब स्पेनले युरोको सेमिफाइनलमा इटाली र बेल्जियमको विजेतासँग खेल्नेछ । यो दोस्रो क्वाटरफाइनल खेल आज मध्यरात १२:४५ बजे सुरु हुनेछ ।hamrokhelkud/from



