
असार २३, २०७८
एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० को फाइनलमा स्थान बनाएसँगै इटालीले इतिहासमा दशौं पटक ठूलो प्रतियोगिताको उपाधि भिडन्तमा प्रतिस्पर्धा गर्ने भएको छ ।
मंगलबार भएको सेमिफाइनलमा स्पेनलाई टाइब्रेकरमा पाखा लगाउँदै इटालीले फाइनलमा स्थान पक्का गरेको हो । निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो । त्यसपछि गोल हुन नसक्दा टाइब्रेकरमा पुगेको खेलमा स्पेनका ड्यानी ओल्मो र अल्भारो मोराटाले गोल गर्न नसक्दा इटाली ४-२ ले विजयी भएको हो ।
इटालीले हालसम्म विश्वकपमा ६ पटक र युरोमा ४ पटक फाइनलमा स्थान बनाएको छ । विश्वकपमा ४ पटक उपाधि जितेको इटाली युरोमा भने एक उपाधिमा नै सिमित छ । इटालीले युरोको पछिल्लो दुवै फाइनलमा हार बेहोरेको छ । इटाली पछिल्लोपटक सन् २०१२ मा स्पेनसँग फाइनलमा पराजित भएको थियो ।
इटालीले सन् १९३४, १९३८, १९८२ र २००६ मा विश्वकप उपाधि जितेको थियो । सन् १९७० र १९९४ मा भने इटाली फाइनलमा पराजित हुन पुगेको थियो । दुवै अवसरमा इटाली फाइनलमा ब्राजिलसँग हार्न पुगेको थियो ।
युरोमा भने इटालीले सन् १९६८ मा उपाधि जितेको थियो । सन् २००० मा इटाली फ्रान्ससँग पराजित हुँदै उपाधिबाट बन्चित भएको थियो । यसपटक इटालीले इंग्ल्यान्ड र डेनमार्कमध्य एक टोलीसँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।
इटालीले दशौं पटक फाइनल खेल्दा सर्वाधिक फाइनल खेल्ने कीर्तिमान भने जर्मनीको नाममा छ । जर्मनीले हालसम्म युरो र विश्वकप जोडेर १४ पटक फाइनल खेलेको छ ।hamrokhelkud/from



