‘समाचार र विचारको
साझा चौतारी’






बालकोटको बार्दलीबाट जब ‘बा’ बोल्नु भयो !


बालुवाटारबाट जब हाम्रा ‘बा’ बालकोट जाने तयारी गर्दै हुनुहुन्थ्यो उहाँको जयजयकार गर्न फोर्सवाला टोली पनि तयार थियो । ‘बा’का हेमानका फोटा सहित टोलीले ‘ अघि बढ हाम्रा बा प्राण दिन तयार छौँ ’ जस्ता जनहितकारी कमनिष्ट क्रान्तिकारी नाराहरुको पनि जोहो गरेको थियो । बालुवाटारबाट जब ‘बा’ बालकोटतर्फ प्रस्थान गर्नु भयो फोर्सवाला टोलीको लावा लस्करले ‘बा’लाई घेराबारा गरेर किर्तन भजनका साथ महान सवारी यात्राको थालनी गरेको थियो ।
‘बा’को कटेरो बालकोट नपुगुन्जेल फोर्सवाला भक्तजनहरुले सुरीलो स्वरमा उहाँको स्तुति प्रशंसा गर्दै निरन्तर सवारीलाई शोभा थप्दै नै लगे । लाग्छ उहाँ अर्थात भगवान बालुवाटारमा प्रकट हुनु भयो र कुनै भक्तलाई भन्नु भयो ‘ म अव बालकोटामा आसन ग्रहण गर्छु’ भक्तले भगवानको दिब्यवाणीलाई पुरा गर्न झै उहाँलाई उहाँकै सिंहासनमा विराजमान गराउन फोर्सवाला भक्तजनहरुको आराधना
सहित मण्डली भगवानलाई लिएर बालकोट जादैछ । दृश्य यस्तै थिए अनि शैली यस्तै थियो जति बेला हाम्रा ‘बा’ बालुवाटारबाट बालकोट प्रस्थान गर्दै हुनुहुन्थ्यो ।
शोभायामान तामझाम र भजन किर्तन सहित उहाँलाई उहाँको कटेरोमा पु¥याए पछि पनि भक्तजनको समूहले ‘बा’को महिमा, प्रशंसा र आरती निरन्तर उतारी रहे ।आफ्ना भगवानको खातीर प्राणको आहुति दिने सम्मको मञ्चन गर्न पनि भक्ती समूह पछि परेनन् । ‘बा’ पनि के कम आफ्ना भक्तहरुको यो असिम प्रेम प्रकटबाट भावुक बन्न पुग्नु भएका ‘बा’ले पनि भक्तहरुको उत्साहलाई थप क्रान्तिकारी बनाउन केही भावुक तर आक्रोस पोख्नु भयो । आफ्नो गद्दी माथि भएको फैसलाको घुमाउरो पाराले निन्दा गर्दै आफ्नो सिंहासनबाट हटाउन भूमिका खेल्नेहरुको पनि खेदो गर्न भ्याउनु भयो । भक्तहरु आँगनमा बसेर ‘बा’ ले बोल्नु भएका दिव्यवचन नतमस्तक बनेर श्रवण गरि रहेका थिए । बार्दलीबाट ‘बा’ सिंहासन छोड्नुको पिडा बोली रहनु भएको थियो । कुनै कुनै भक्तले त सिरानीको खुकुरीको समेत सुन्दर भाषाको प्रयोग गरे । आफ्ना भक्तहरुको शक्तिशाली स्वभावबाट ‘बा’ आनन्द लिदै हुनुहुन्थ्यो र फेरि आफु पुरानो सिंहासनमा विराजमान बन्ने उत्साहको सन्देश भक्तहरुका बीचमा सुनाउदै हुनुहुन्थ्यो यो सुनेर भक्तहरु हौसिएका थिए । ‘बा’ले सिंहासनसँग बिछोडिएका कारण बिक्षिप्त बन्न पुगेका भक्तहरुका बीच उहाँले भक्जनहरुलाई चिन्तामा नपर्न ढाडस दिनु भयो ।
बार्दलीबाट उहाँले आफुले आफ्ना भक्तहरुका माझमा आफुले सबै शुभ कार्यहरु मात्र गरेको विवरण समेत प्रस्तुत गर्नु भएको थियो । ‘बा’ जब आफ्ना दिव्यवाणी समापन गरेर अन्तरध्यान हुनु भयो । एक फेर जोडका साथ भक्तहरुले उहाँको जयजयकार गरेर कार्यक्रमको विधिवत समापन भएको घोषणा गरेका थिए ।

प्रतिकृया दिनुहोस्