‘समाचार र विचारको
साझा चौतारी’






फिल्मको काम सुरु नहुँदा कलाकारलाई म्यूजिक भिडियोमा भ्याइनभ्याइ


फिल्मीखबर, काठमाण्डौ, 2021/07/15
कोरोना महामारी सुरु भएयता नेपाली फिल्म क्षेत्र चकमन्न छ । गत वर्षको लकडाउनपछि दुई दर्जन बढी फिल्म निर्माण भए पनि प्रदर्शन उत्साहजनक हुन सकेन । केही आशातित फिल्म प्रदर्शनको संघारमा रहँदा देश फेरि कोरोना महामारीले थलियो । त्यसयता फिल्म क्षेत्र कोमा छ । सरकारले फिल्म निर्माण र प्रदर्शनको अनुमति दिने टुंगो नहुँदा फिल्मकर्मी पनि तातेका छैनन् ।

निषेधाज्ञा खुकुलो भएसँगै म्यूजिक भिडियो निर्माणमा भने बाढी आएको छ । दिनमै आधा दर्जनभन्दा बढी म्यूजिक भिडियोको छायांकन भइरहेको छ । फिल्ममा व्यस्त हुने कलाकारहरु पनि यतिबेला म्यूजिक भिडियोलाई समय दिइरहेका छन् । सकभर एकैदिनमा छायांकन सकिने र पारिश्रमिक पनि राम्रो पाइने हुँदा म्यूजिक भिडियोप्रति फिल्मका कलाकारको आकर्षण बढ्दो छ ।

कोरोना महामारीभन्दा अगाडि अभिनेता राजेश हमाललाई म्यूजिक भिडियोमा खेल्ने फुर्सद नै हुँदैन थियो । देश तथा विदेशमा हुने सांस्कृति कार्यक्रम र टिभी शोले गर्दा उनले म्यूजिक भिडियो खेल्ने प्रस्ताव स्वीकार गर्दै आएका थिए । तर, लकडाउनपछि त उनले म्यूजिक भिडियो खेलेर रेकर्ड नै राखे । लकडाउन अन्त्यपछि उनले झण्डै एक दर्जन म्यूजिक भिडियोमा अभिनय गरे ।

गएको बैशाखबाट उनी फिल्म ‘सत्यम्’ को छायांकनमा व्यस्त हुने तयारीमा थिए । फिल्मका लागि उनले आफ्नो गेटअप परिवर्तनमा खुब मिहिनेत गरेका थिए । तर, कोरोनाको दोस्रो चरणको महामारीले फिल्म छायांकनमा निस्कन सकेन । फिल्मको काम सुरु भएपछि म्यूजिक भिडियो नखेल्ने बताएका हमाल निषेधाज्ञा खुकुलो भएसँगै फेरि म्यूजिक भिडियोमा फर्किएका छन् ।

सोमवार अजय कार्कीको आवाजमा रहेको ‘हामी देश बचाउँ’ बोलको देशभक्ति गीतमा हमालले अभिनय गरेका छन् । योसँगै उनले केही म्यूजिक भिडियोमा पनि काम गर्ने पक्का भएको बुझिएको छ । उनलाई म्यूजिक भिडियोमा खेलाउन निर्माताहरुले एक लाखसम्म तिर्ने गरेको बजारमा चर्चा छ । तर, लकडाउनयता उनले अभिनय गरेका गीतको म्यूजिक भिडियो खासै चलेका छैनन् ।

म्यूजिक भिडियोमा सबैभन्दा बढी खोजिने मोडल हुन्, पल शाह । म्यूजिक भिडियोबाटै करिअर सुरु गरेका कारण उनले फिल्मभन्दा बढी प्राथमिकता म्यूजिक भिडियोलाई दिने गरेको पाइन्छ । यूट्युबमा उनले अभिनय गरेका भिडियोले भ्यूजको खडेरी भोग्नु नपर्ने विश्वास गायक, गायिका तथा संगीतकारमा छ । यसैले त हरेक म्यूजिक भिडियो मेकरको पहिलो रोजाईमा उनी छन् ।

लकडाउनअघि फिल्म ‘दुई नम्बरी’ को छायांकन गरिरहेका उनी लकडाउन अन्त्यपछि १७/१८ घन्टासम्म म्यूजिक भिडियोमा व्यस्त हुन थालेका थिए । त्यसबेला उनले म्यूजिक भिडियो गरेरै एक करोडभन्दा बढी छापे र काठमाडौंमा जग्गा पनि किने । निषेधाज्ञा खुलेसँगै फेरि उनको व्यस्तता म्यूजिक भिडियोमा ह्वात्तै बढेको छ । उनले दिनहुँ म्यूजिक भिडियोको छायांकन गरिरहेका छन् ।

निषेधाज्ञापछि जन्मथलो कैलाली पुगेका पुष्प खड्का पनि अहिले म्यूजिक भिडियोमा व्यस्त छन् । उनले गएको एक हप्तामा दुईवटा म्यूजिक भिडियोको छायांकन सकाएका छन् भने पाइपलाइनमा आधा दर्जन बढी छ । उनको तीनवटा फिल्म त रिलिजकै पखाईमा छ । ‘कृष्ण लीला, मनसँग मन र तिम्रो मेरो साथ’ को छायांकन भ्याइसकेका उनी चाँडै नयाँ फिल्ममा व्यस्त हुँदैछन् ।

फिल्मको काम सुरु नहुँदा वर्षा राउत, नीता ढुंगाना, वर्षा सिवाकोटी, आकाश श्रेष्ठ, पूजा शर्मा लगायतका कलाकार पनि यतिबेला म्यूजिक भिडियोमा व्यस्त बनेका छन् । कोरोनाका कारण महिनौंसम्म बेरोजगार भएर बसेका कलाकारलाई म्यूजिक भिडियोको काम सुरु हुँदा आम्दानीसँगै दिन काट्ने बाटो बनेको छ । फिल्ममा मात्र काम गर्ने कलाकारहरु भने घरमै सीमित भएका छन् ।

प्रतिकृया दिनुहोस्