साउन ३, २०७८
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका स्पेनिस युवा मिडफिल्डर मोन्चु रोड्रिग्वेज स्पेनिस क्लब ग्रानडामा अनुबन्धित भएका छन् । बार्सिलोनाको एकेडेमी ला मासियामा हुर्किएका मोन्चुलाई ग्रानडाले फ्रि ट्रान्सफरमा अनुबन्ध गर्न सफल भएको हो ।
मोन्चु ग्रानडामा पुगेपनि बार्सिलोनाले उनलाई भविष्यमा बेच्नको लागि ५० प्रतिशत अधिकार राखेको छ । २१ वर्षीय मोन्चु सन् २०१२ मा बार्सिलोनाको एकेडेमी ला मासियामा आएका थिए । त्यसअघि उनी २००७ देखि मलोर्कामा रहेका थिए ।
मोन्चुले १७ वर्षको उमेरमा बार्सिलोनाको ‘बी’ टोलीमा डेब्यु गरेका थिए । ८ वर्ष ला मासियामा बिताएका मोन्चुले बार्सिलोनाको ‘बी’ टिमबाट ६३ खेलमा ११ गोल गर्दै सिनियर टोलीमा समेत स्थान बनाउन सफल भएका थिए । उनले सन् २०२० अगस्टमा च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा नेपोलीविरुद्धको खेलमा बार्सिलोनाको सिनियर टोलीबाट डेब्यु गरेका थिए ।
उक्त खेलमा बार्सिलोना ३–१ ले विजयी भएको थियो । त्यही नै उनको लागि सिनियर टोलीबाटे खेलेको एकमात्र खेल बन्यो। त्यसपछि उनी २०२०–२१ को सिजनमा सेगुन्डा डिभिजन क्लब जिरोनामा लोनमा पुगेका थिए । उनले जिरोनाबाट गत सिजन ३९ खेल खेल्दै ३ गोल गरेका थिए ।
जिरोना शीर्ष डिभिजन बढुवाको प्ले अफमा पुगेपनि अन्तिम खेलमा रायो भालेकानोसँग पराजित हुदा शीर्ष डिभिजनमा पुग्न असफल भएको थियो । उनले बार्सिलोनाबाट २०१७–१८ को सिजनमा युइएफए युथ लिग जितेका छन् ।hamrokhelkud/from



