‘समाचार र विचारको
साझा चौतारी’






फिल्ममा हुन नसकेको आर्यन र विशालको सहकार्य म्यूजिक भिडियोमा


फिल्मीखबर, काठमाडौं, 2021/07/19
कोरोनाका कारण सबैभन्दा प्रभावित क्षेत्र हो, फिल्म क्षेत्र । गत वर्ष कोरोना संक्रमण फैलिन नदिन सरकारले लकडाउनभन्दा अगावै फिल्म निर्माण र प्रदर्शनमा अनिश्चितकालका लागि रोक लगाएको थियो । त्यसको ९ महिनापछि फिल्म क्षेत्र पुनः सञ्चालनमा आयो । बीचमा केही फिल्म निर्माण र प्रदर्शन भए । तर, फिल्म क्षेत्र चलायमान हुन नपाउँदै फेरि कोरोना महामारी फैलियो ।

गत बैशाखमा दोस्रो चरणको कोरोना महामारी नियन्त्रणका लागि निषेधाज्ञा जारी हुनुभन्दा अगावै बन्द भएको फिल्म क्षेत्र अझै खुल्न सकेको छैन । निषेधाज्ञा खुकुलो भएसँगै म्यूजिक भिडियोको छायांकन भने यतिबेला धमाधम भइरहेको छ । फिल्मको काम सुरु नहुँदा बेरोजगार बनेका कलाकारहरु पनि अहिले म्यूजिक भिडियो खेलेर अभिनय र सुटिङ सेटको न्यास्रो मेटिरहेका छन् ।

निषेधाज्ञाभन्दा अगाडि अभिनेता आर्यन सिग्देल फिल्म ‘डिसेम्बर फल्स’ को छायांकन सकेर अर्को फिल्म ‘मिरर’ को तयारीमा जुटेका थिए । फेरि कोरोना महामारी नफैलिएको हुन्थ्यो भने उनले यो फिल्मको पनि छायांकन भ्याइसकेका हुने थिए । तर, अब फिल्मको छायांकन कहिलेबाट सुरु हुन्छ, टुंगो छैन । कोरियोग्राफर कविराज गहतराजले यो फिल्मबाट निर्देशनमा डेब्यू गर्दैछन् ।

कोरोनाका कारण फिल्मको काम सुरु नहुँदा आर्यनले म्यूजिक भिडियोको छायांकन सुरु गरेका छन् । दुई दिन काभ्रेमा उनले गायक सनुप पौडेलको आवाजमा रहेको एक गीतको छायांकन गरे, जसको निर्देशन ‘सेल्फी किङ’ फेम्ड निर्देशक विशाल सापकोटाले गरेका हुन् । विशालसँग आर्यनले फिल्म ‘आई एम सरी’ मा एकसाथ काम गरेका थिए । उनीहरु मिल्ने साथी हुन् ।

खासमा आर्यन र विशाल फिल्ममा सहकार्य गर्ने तयारीमा थिए । लकडाउनमा उनीहरुले पोखरामा बसेर स्क्रिप्टमा काम समेत गरेका थिए । स्थिति सामान्य हुनसाथ छायांकनमा जाने उनीहरुको तयारी थियो । तर, विशाल ‘अर्जुन रेड्डी’ को नेपाली रिमेकमा जोडिएपछि आर्यनसँगको प्रोजेक्ट थन्कियो । यद्यपि, फिल्ममा हुन नसकेको उनीहरुको सहकार्य म्यूजिक भिडियोमा भएको छ ।

आर्यनलाई पहिलो पटक म्यूजिक भिडियोमा एक्सन-कट गरेका विशालले फिल्ममा पनि चाँडै सहकार्य हुने बताए । उनले भने- ‘मैले पहिला ‘अर्जुन रेड्डी’ को नेपाली रिमेक गर्नुपर्नेछ । त्यसपछि आर्यन दाईसँग एउटा प्रोजेक्टमा काम गर्ने योजना छ । कोरोनाका कारण तत्काललाई प्रोजेक्ट पोस्टपोन्ड गरेका हौं । उहाँ जस्तो प्रतिभावान कलाकारलाई फिल्ममा एक्सन-कट गर्न आतुर छु ।’

प्रतिकृया दिनुहोस्