२३ साउन २०७८
चौतारी पोष्ट अनलाइन
काँकरभिट्टा। झापाको मेचीनगर – ७ सतिघट्टा स्थित पालियाखोलामा डुबेको अवस्थामा शनिबार एक वृद्धको शव भेटिएको छ ।
प्राप्त जानकारी अनुसार मेचीनगर नगरपालिका वडा नम्बर ७ सतिघट्टा निवासी ७८ वर्षीय तुलाराम खनाल घरबाट करिब ५ सय मिटर उत्तर स्थानीय पालिया खोलाको पानीमा डुबेको अवस्थामा भेटिएका हुन् ।
पारिवारिक स्रोतका अनुसार मध्यान्न १२ बजे उनी चरनामा रहेको गाई सार्न भनि घरबाट निस्किएका थिए ।
अपराह्न्न ४ बजेसम्म घर नआएपछि परिवारका सदस्यले खोजी गर्दा उनका छोरा तथा छिमेकीले खनाललाई पालिया खोला किनारमा घोप्टो परेर पानीमा डुबेको अवस्थामा फेला पारेका थिए ।
मृत अवस्थामा भेटिएपछि छर छिमेकीले स्थानीय प्रहरीलाई खबर गरेका थिए ।
खबर पाए लगत्तै इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले कानुनी प्रकृया पुरा गरी शवको पोष्ट मार्टम्का लागि मेची अञ्चल अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता राकेश थापाले पोष्ट मार्टम्को रिपोर्ट प्राप्त भएपछि मात्र घटना बारे थप बताउँन सकिने जानकारी दिए ।



