खबर

एक सय १२ नम्बरको सीमा स्तम्भ बाढीले बगायो

२७ श्रावण २०७८
भद्रपुर (ने.स) ।

नेपाल–भारतको संयुक्त सीमा फिल्ड सर्वे टोलीको लापरवाहीका कारण सोमबार अपराह्न सीमा क्षेत्रमा राखिएको एउटा मुख्य सीमा स्तम्भ बगाएको छ ।
केही दिनको अविरल वर्षाले नेपाल–भारतको सीमा भएर बग्ने मेची नदीमा पानीको बहाव बढेसँगै झापा कचनकवल गाउँपालिका–५ स्थित पाठामारीमा राखिएको ११२ नम्बर सीमा स्तम्भ बगाएको हो ।

मेचीमा पानीको बहाव बढेपछि नदी आसपासका रहेका दुई दर्जन बढी सानो सीमा स्तम्भ पनि डुबानमा परेको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाका प्रवक्ता तथा डिएसपी प्रेमबहादुर भण्डारीले बताउनुभएको छ । सीमा स्तम्भ नजिकै सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट पाठामारीले सुरक्षा दिइरहेको जानकारी दिँदै डिएसपी भण्डारीले सशस्त्र प्रहरीको पोस्ट पनि बगाउने अवस्था पुगेको बताउनुभयो । नदीले तटीय क्षेत्र कटान गर्ने क्रममा केही दिनअघि मात्र सीमा स्तम्भ नजिकै रहेका रूखहरू बगाएर पिलर मात्र बाँकी रहेको र सोमबार त्यो स्तम्भ पनि बगाएको स्थानीय कमल गणेशले बताउनुभयो। उहाँ भन्नुहुन्छ–‘समयमा तटबन्ध गरिएको भए सीमा पिलरसँगै तटीय क्षेत्रका जमिन जोगाउन सकिन्थ्यो ।’

सीमा स्तम्भ बगाएको दक्षिणतर्फ भारतीय बस्ती छ भने पूर्वतर्फ नेपाली बस्ती छ । मेची नदीले यसरी नै तटीय क्षेत्र कटान गर्दै लैजाने हो भने भारतीय बस्तीसँगै नेपाली बस्ती पनि बगाएर लैजाने खतरा बढेको सो क्षेत्रका नागरिकको भनाइ छ ।सीमा स्तम्भ जोखिममा रहेको बारेमा एक वर्ष अघिदेखि नै सम्बन्धित निकाय जानकार भए पनि कोरोना महामारीका कारण देखाउँदै त्यसलाई जोगाउने पहल नगरिएको बताइएको छ । नेपाल–भारतको संयुक्त सीमा फिल्ड सर्वे टोलीले सीमा स्तम्भहरूमा केही समस्या देखिएमा संयुक्तरूपमा काम गर्नुपर्ने भए तापनि कोरोनाले गर्दा डेढ वर्षदेखि झापासँग जोडिएको सीमा स्तम्भको स्थलगत निरीक्षण हुन नसकेको डिएसपी भण्डारीले बताउनुभयो ।newsofnepal/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button