
१ भाद्र २०७८
यमु कडेल, बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिकाको कार्यलयमा तालाबन्दी गरिएको छ ।
गाउँपालिकाभित्र अधिकांश खोला नदीहरुमा अवैध उत्खनन गरी जम्मा गरिएको ढुङ्गा गिट्टी र बालुवामा भएको अवैध तस्करीप्रति विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी राप्ती सोनारी एरिया कमिटीद्वारा राप्ती सोनारी गाउँपालिकाको कार्यलमा धर्ना सहित तालाबन्दी गरेको हो ।
धर्ना कार्यक्रममा विप्लव नेकपाका कार्यकर्ताले प्राकृतिक स्रोत माथिको दोहन बन्द गर, नदी जन्य पदार्थको अवैध चोरी निकासी बन्द गर, राप्ती लगाएतका नदिहरुमा हुने अवैध उत्खनन बन्द गर जस्ता नारा लेखिएको प्ले कार्ड बोकेका थिए । धर्ना कार्यक्रम १ घण्टासम्म भएको छ ।
विप्लव नेकपा राप्ती सोनारी एरिया इन्चार्ज महानले भने, ‘हामीले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला समन्वय समिति लगायतका धेरै निकायमा ज्ञापन पत्र समेत बुझाएका थियौ तर उक्त कुराको कुनै पनि निकायमा सुनवाइ नभएकोले यो धर्ना र तालाबन्दी गर्न बाध्य भयौं ।’ सत्ता र शक्तिको पहुँचको आडमा बसेर यहाँका धेरै निकायले अधिक धन कमाइराखेको र गैरकानुनी रुपमा उत्खनन गर्दै आएको नेकपा राप्ती सोनारी एरिया इन्चार्ज महानले बताए ।
विप्लव नेकपा बाँकेका सेक्रेटरी अनिल क्षेत्रीले राप्ती सोनरीमा अवैध उत्खनन गरी जम्मा गरेर लुकाएर राखेको गिट्टी ढुङ्गा बालुवाहरु सबै जनताको सम्पत्तिको रुपमा घोषणा गर्न माग गर्दै उक्त गलत काम रोकिएन भने हामी अझै चरणबद्द रुपमा आन्दोलन गर्ने चेतावनी दिए ।
सो विषयमा हामी गाउँपालिकाको अध्यक्ष लाहुराम थारुसँग कुराकानी गर्न जाँदा अध्यक्ष थारु गाउँपालिकाको कार्यालयमा नरहेको र तालिममा गएको जानकारी पायौँ । Ratopati News/from



