खबर

तालिवान प्रवक्ता सार्वजनिक

३ भाद्र २०७८

काबुल, (एजेन्सी) ।

तालिवान समूहका थुप्रै वरिष्ठ नेताहरू कतारबाट अफगानिस्तान फर्केका छन् । तिनीहरू त्यहाँनिर्वासित जीवन बिताउँदै आएका थिए । यसैबीच, अफगानिस्तानमाथि पूर्णरूपमा नियन्त्रण लिएको दुई दिनपछि पहिलोपटक तालिवान लडाकुहरूले पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।

वर्षौंदेखि तालिवान समूहको सूचना सम्प्रेषण गर्दा आवाज मात्र सुनिँदै आएका तालिवानी प्रवक्ता जविहुल्लाह मजाहिद मंगलबार तालिवानको पहिलो पत्रकार सम्मेलनमार्फत सार्वजनिक भएका छन् । प्रवक्ताका अनुसार महिलाहरूले इस्लामिक कानुन सरियाबमोजिम आफ्नो अधिकारको प्रयोग गर्न पाउनेछन् भने अफगान भूमिमा कुनै पनि विदेशी लडाकुहरूलाई आतंकवाद फैलाउनका लागि प्रयोग गर्न दिइने छैन ।

तथा बीबीसीका महिला पत्रकार याल्दा हकिमले आफूले वर्षौंदेखि फोनमा मात्र कुरा गर्दै आएका प्रवक्ताको पहिलोचोटि अनुहार देख्दा निकै आश्चर्य लागेको प्रतिक्रिया दिएकी छन् । हकिमले वर्षौंदेखि अमेरिकी र अफगान सरकारविरुद्ध रक्तपिपासु तथा विचारोत्तेजक सन्देशहरू दिँदै आएका मजाहिदको शान्त र शालिन व्यक्तित्व देखेर विश्वासै नलागेको बताएकी छन् । भारतले मंगलबार एक विशेष सैनिक विमानमार्फत आफ्नो राजदूत लगायतका सम्पूर्ण कुटनीतिज्ञ, सुरक्षाकर्मी तथा अलपत्र परेका नागरिक गरी करिब एक सय ५० जनालाई अफगानिस्तानबाट सकुशल स्वदेश फर्काएको छ । सो विमान मंगलबार साँझ राजधानी दिल्लीको हिन्दोन हवाई अखडामा अवतरण भएको हो । भारतका विदेशमन्त्री एस. जयशंकरले यो कार्य जटिल र कठिन भएको प्रतिक्रिया दिएका छन् ।

अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसले तालिवानले सर्वसाधारणले सुरक्षित ढंगले काबुल विमानस्थल प्रयोग गर्न सक्ने प्रतिबद्धता जाहेर गरेको जनाएको छ । ठेकेदार र कुटनीतिज्ञ गरी अफगानिस्तानमा अझै करिब ११ हजार अमेरिकी नागरिक बाँकी रहेका छन् । अमेरिकी अधिकारीहरूले हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्ना नागरिक र अन्य स्थानीय बासिन्दालाई कुनै पनि आक्रमणको खतरा नरहेको सुनिश्चितता प्राप्त गर्न आफूहरू तालिवान कमान्डरहरूसँग सम्पर्कमा रहेको बताएका छन् ।

यसैबीच, अमेरिकी पूर्वउपराष्ट्रपति माइक पेन्सले वर्तमान राष्ट्रपति जो बाइडेनले आफूहरूले तालिवानसँग विगतमा गरेको सम्झौता तोडेको आरोप लगाएका छन् । वालस्ट्रिट जर्नलमा प्रकाशित विचार स्तम्भमा उनले अमेरिकाले अफगानिस्तानबाट आफ्नो फौज फिर्ता लिएकोमा आलोचना गरेका छन् । उनले इरान बन्धक प्रकरणपछि भएको अमेरिकी विदेश नीतिको यो पहिलो सबैभन्दा ठूलो बेइज्जती भएको प्रतिक्रिया दिएका छन् ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button