खेलकुद

ब्रेभलाई द हन्ड्रेडको उपाधि, लिभिङस्टोन मोष्ट भ्यालुएबल खेलाडी

भदौ ६, २०७८

एजेन्सी – विश्व क्रिकेटमा पहिलो पटक भएको द हन्ड्रेड क्रिकेट प्रतियोगिता उपाधि साउर्थन ब्रेभले जितेको छ । फाइनलमा ब्रेभले बर्मीङ्घम फिनिक्सलाई ३२ रनले हराउँदै च्याम्पियन बनेको छ ।

लर्ड्स मैदानमा भएको फाइनलमा जितको लागि १ सय ६९ रनको विजयी लक्ष्य पछ्याएको फिनिक्सले निर्धारित एक सय बलमा पाँच विकेट गुमाउँदै १ सय ३६ रन बनायो । फिनिक्सका लियाम लिभिङस्टोनले १९ बलमा ४ चौका र ४ छक्का सहित सर्वाधिक ४६ रनको योगदान दिए । लिभिङस्टोन ४५ औं बलमा रन आउट हुनु फिनिक्सको लागि हारको मुख्य कारण बन्यो ।

कप्तान मोईन अलीले ३० बलमा ३ छक्का र १ चौका सहित ३६ रन जोडे । क्रिस बेन्जामिन २३ र बेनी होवेल २० रनमा आउट भए । ब्रेभका जर्ज ग्रेटन, क्रेग ओभरटन, ट्यामल मिल्स र ज्याक लिन्टोटले एक एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको ब्रेभले निधारित एक सय बलमा ६ विकेट गुमाउँदै १ सय ६८ रन बनाएको थियो । पल स्टर्लिङले ३६ बलमा २ चौका र ६ छक्का सहित ६१ रनको उत्कृष्ट इनिङ खेल्दै प्लेयर अफ द फाइनल चुनिए । तल्लोक्रमा रस व्हाइटलीले १९ बलमा ४ चौका र ४ छक्का सहित ४४ रनमा अविजित रहँदै बलियो योगफलमा पुर्याएका थिए । एलेक्स डेविस २७ र टिम डेविडले १५ रनको योगदान दिए ।

फिनिक्सका एडम मिल्नेले सर्वाधिक २ विकेट लिए । इमरान ताहिर, बेनी होवेल र लियाम लिभिङस्टोनले एक एक विकेट लिए । लिभिङस्टोन प्रतियोगिता मोष्ट भ्यालुएबल प्लेयर चुनिए । उनले प्रतियोगिताभर ९ खेलमा ३ अर्धशतक सहित कुल ३ सय ४८ रन बनाउँदै शीर्ष स्थानमा थिए । उनको उत्कृष्ट प्रदर्शन ९२ रन अविजित हुँदा स्ट्राइकरेट १७८ थियो ।

इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले आयोजना गरेको द हन्ड्रेड प्रयितोगितामा कुल आठ टोलीको सहभागिता थियो । महिला द हन्ड्रेडको उपाधि भने ओभल ईन्भिन्सिबल्सले जितको छ । नेपाली लेगस्पिनर सन्दीप लामिछाने ओभल ईन्भिन्सिबल्समा अनुबन्ध भएपनि भिसाको कारण इंग्ल्यान्ड गएर खेल्न नपाई फर्किएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button