खबर

‘सहमति भ्रम हो, पार्टी दर्ता हुन्छ’

८ भाद्र २०७८
काठमाडौं, (नेस) ।

एमालेसँग छुट्टिएर नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीलाई भदौ ९ गते निर्वाचन आयोगले बोलाएको छ ।

मध्यमार्गी नेताहरू नेपाल नेतृत्वको पार्टीमा सहभागी नहुने भएपछि निर्वाचन आयोगमा २० प्रतिशत केन्द्रीय सदस्य पुग्छन् कि पुग्दैनन् भन्ने चासोको विषय बन्न पुगेको छ । निर्वाचन आयोगले एमालेले पछि पुनर्गठन गरेको केन्द्रीय कमिटीलाई मान्यता नदिने निर्णय गरेपछि २ जेठ २०७५ अघि रहेको २ सय ४१ सदस्यीय केन्द्रीय कमिटीबाटै २० प्रतिशतको गणना हुनेछ ।

शुरुमा नेपाल समूहमा ९० जनाभन्दा बढी केन्द्रीय सदस्य रहेकोमा मध्यमार्गी नेताहरुले साथ छोड्दा निर्वाचन आयोगमा दल दर्ताका लागि ५७ जना केन्द्रीय कमिटीका सदस्यहरुको नामावली बुझाइएको छ । निर्वाचन आयोगले २० प्रतिशत केन्द्रीय सदस्यको सनाखत गरेपछि दल दर्ताको प्रमाणपत्र दिनेछ । अध्यक्ष केपी ओलीले २० प्रतिशत केन्द्रीय सदस्य पुग्न नदिनका लागि मध्यमार्गी नेताहरुसँग १० बुँदे सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउँदै जेठ २ अघिकै कमिटीलाई ब्युँताउने सहमति जनाइसक्नुभएको छ ।

यता, नेपाल नेतृत्व नयाँ पार्टीले भने अब ओलीसँग कुनै पनि हालतमा एकता हुन नसक्ने बताएको छ । प्रस्तावित नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले निर्वाचन आयोगमा दल दर्ताका लागि आफूहरूसँग पर्याप्त केन्द्रीय कमिटीका सदस्यहरु रहेको दाबी गर्नुभएको छ । ५७ जना केन्द्रीय कमिटीको केन्द्रीय सदस्यहरुको नामावली निर्वाचन आयोगमा बुझाइसकेको जिकिर गर्दै उहाँले सनाखत हुनेबित्तिकै नयाँ दल दर्ताको प्रमाणपत्र लिएर अगाडि बढ्ने बताउनुभयो । उहाँले आफूहरुसँग अहिले पनि ३१ जना संघीय सांसदहरु रहेको र केन्द्रीय सदस्यहरुको संख्या पनि थपिने क्रममा रहेको दाबी पनि गर्नुभयो।

पाण्डेले ओली र मध्यमार्गी नेताहरुबीच भएको सहमति भ्रम मात्र भएको टिप्पणी गर्नुभयो । उहाँले पार्टी एकता बचाउन चाहेको भए प्रधानमन्त्रीबाट ओली हट्नुपर्ने वातारण नै सिर्जना नहुने दाबी गर्दै नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘पार्टीलाई एकताबद्ध बनाउन चाहेको भए प्रधानमन्त्रीबाट ओली हट्नुपर्ने नै थिएन, गण्डकी र लुम्बिनी प्रदेशमा विपक्षको सरकार गठन हुने थिएन, कर्णालीमा अहिलेको अवस्था सिर्जना हुने थिएन ।’

अध्यक्ष ओलीलाई पार्टीभित्र कुनै पनि विरोधी नेता मन नपर्ने जिकिर गर्दै नेता पाण्डेले मध्यमार्गी धारका नेताहरु कुनै पनि हालतमा ओलीसँग मिल्न नसक्ने दाबी गर्नुभयो ।newsofnepal/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button