खबर

ओली यतिखेर ‘दुःखी’

१० भाद्र २०७८
नेपाल समाचारपत्र, काठमाडौं ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टी एकता बचाउन नसकेकोमा दुःख व्यक्त गर्नुभएको छ । उहाँले तुलसीलाल स्मृति प्रतिष्ठानमा बुधबार पत्रकार सम्मेलन गर्दै पार्टीको एकता बचाउनका लागि कोशिस गर्दागर्दै पनि पार्टी विभाजित भएकाले आफूलाई दुःख लागेको बताउनुभएको हो ।

अध्यक्ष ओलीले माधव नेपालप्रति कटाक्ष गर्दै एमाले फुटाउन सांसदहरुलाई घर–घरबाट थुतेर चन्द्रागिरिमा लगेर थुनेको आरोप पनि लगाउनुभयो । अध्यक्ष ओलीले आफ्नो कार्यकालमा ल्याएको अध्यादेश र वर्तमान सरकारले ल्याएको अध्यादेशमा धेरै भिन्नता रहेको बताउनुभयो । उहाँले आफूले देश र जनताको हितका लागि, सांसदहरुको अधिकार रक्षाका लागि संविधानको मर्मअनुसार नै राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको दाबी गर्नुभयो ।

तर, अहिले ल्याइएको अध्यादेशमा भने कुनै दललाई फुटाउन, कसैलाई सजिलो पार्नका लागि अध्यादेश ल्याउने क्रममा नै राजनीतिक दलसम्बन्धी अध्यादेशमा ‘केन्द्रीय सदस्य वा संसदीय दलको २० प्रतिशत’सम्बन्धी प्रावधान राखिएको उहाँको दाबी थियो ।

ओलीले पार्टीको आन्तरिक विवाद समाधानका लागि १० बुँदे प्रस्तावलाई सिर्जनात्मक ढंगले लागू गर्दै अब पार्टीको समग्र ध्यान विधान महाधिवेशन र राष्ट्रिय महाधिवेशनमा केन्द्रित हुने बताउनुभयो ।

उहाँले लामो समयदेखि जारी समस्यालाई समाधान गर्दै पार्टीलाई एकताबद्ध बनाउन अनेकौं प्रयास भएको जिकिर गर्दै पार्टीलाई विभाजित हुन नदिए थप सुदृढ बनाउन सकारात्मक योगदान गर्ने कार्यदलका सदस्य एवं अन्य सबै नेतालाई धन्यवाद दिनुभयो । ओलीले पार्टीलाई वैचारिकरूपमा स्पष्ट, संगठनात्मकरूपमा चुस्त, भावनात्मकरूपमा एकताबद्ध गर्ने साझा लक्ष्यप्रति आफू प्रतिबद्ध रहेको बताउनुभयो ।

लोकतन्त्रका आधारस्तम्भका रूपमा रहेका पार्टीहरु विभाजित हुँदा मूल्य सिंगो प्रणाली र राष्ट्रले नै चुकाउनुपर्ने अतीतका अनुभवहरू स्मरण गर्दै उहाँले भन्नुभयो– ‘एमालेबाट अलग्गिएर छुट्टै दल दर्ता गरेका नेता÷कार्यकर्तालाई असफलता अवश्यम्भावी छ । हानिकारक बाटो छाडेर पार्टीको मूलघरमा फर्किन स्थायी कमिटीले औपचारिक आह्वान गरेकाले पार्टीमै फर्किएमा विगतका कुनै क्रियाकलाप या गतिविधिलाई लिएर कुनै पूर्वाग्रह राखिने छैन ।’

सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै अध्यक्ष ओलीले एमालेले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गर्ने सन्दर्भमा सभामुखले सूचना टाँस नगरेमा आक्रोश पनि व्यक्त गर्नुभयो । अध्यादेशअनुसार एमाले विभाजन गराउने प्रयोजनकै निम्ति यस प्रकारको गतिविधि भएको आरोप लगाउँदै आफूहरुले पार्टी नफुटोस् भनेर १४ सांसदलाई कारबाही गरेको बताउनुभयो । उहाँले आक्रोश पोख्दै भन्नुभयो– ‘एमालेले गरेको कारबाही ९ दिनसम्म थन्क्याएर सभामुख दाँत टाल्न जानुभयो । मेरो शुभकामना छ, दाँत राम्रोसँग टालियोस् ।’

एमाले अध्यक्ष ओलीले सभामुखको भूमिका निष्पक्ष रहन नसकेको आरोप लगाउँदै सभामुख निष्पक्ष रहन नसक्नु लोकतान्त्रिक प्रणालीका लागि अत्यन्त दुःखद कुरा भएको टिप्पणी गर्नुभयो ।

कार्यक्रममा पार्टीका सचिव एवं प्रचार विभागका प्रमुख योगेश भट्टराईले अध्यक्ष ओली र नेता नेपालबीचको सहमतिमै कार्यदलले १० बुँदे प्रस्ताव तयार गरेकाले पार्टीलाई विभाजन गर्नुपर्ने कुनै आवश्यकता नभएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button