
१४ भदौ २०७८
चौतारी पोष्ट अनलाइन
काँकरभिट्टा । नेपालको पूर्वी सीमानाकामा हुँदै आएको आवतजावतको कडाईं अब केही सहज हुने भएको छ ।
गृह मन्त्रालयको निर्देशनमा झापा प्रशासनलाई पूर्वी सीमानाकाबाट हुने भारतीय तथा नेपाली नागरिकको प्रवेशमा आवश्यक समन्वय गर्न निर्देशन प्राप्त भएको स्रोतले बताएको छ ।
यसअघि काँकरभिट्टा नाकाबाट भारतीय नागरिकको पिसीआर रिपोर्टको आधारमा अत्यावश्यक सेवाका नागरिकलाई मात्र नेपाल प्रवेश अनुमति दिइँदै आएकोमा अब खोपको मात्रा पुरा गरेको कार्डको आधारमा नेपाल प्रवेशमा सहजीकरण गरिने झापाप्रशासन स्रोतले जानकारी दिएको छ ।
नेपालबाट भारत जाने नागरिकको हकमा भने भारत पक्षले भने अहिले सम्म केही खुलाएको छैन् । तर, भारतीय नागरिकले प्रवेश अनुमती पाएसँगै भारतीय पक्षबाट समेत सोही अनुरुपको सहजीकरण हुने नेपाली पक्षको विश्वास रहेको छ ।
नाका बन्दकै अवस्थामा समेत अत्यावश्यक काम देखाउँदै हाल करिब ५ सयको हाराहारीमा भारत जाने तथा सोही बराबरको संंख्यामा नेपाली तथा भारतीय नागरिकहरुले नाकाबाट दैनिक आवतजावत गर्दै आएका स्थानीय प्रशासनको तथ्यांकमा उल्लेख छ ।
मेचीनगर क्षेत्रका ब्यवसायीहरुले पटक–पटक प्रशासनसमक्ष नाका खुलाउन माग गर्दै स्थानीय सरकार तथा प्रशासनको ध्यानाकर्षण गराउँदै आएका छन् ।
आइतबारमात्र ब्यवसायीहरुको टोलीले सत्तारुढ दल नेपाली काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्मामार्फत प्रधानमन्त्रीलाई नाकाको सहजीकरण तथा खुलाउने सन्दर्भमा ज्ञापनपत्र बुझाएका थिए ।



