मूल खबर

माफ नेपालको दोश्रो वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । मिडिया एड्भोकेसी फोरम नेपालले प्रत्येक वर्ष प्रदान गर्ने पैरवी पत्रकारिता पुरस्कार-२०२१ बाट यो वर्ष जनता टेलिभिजन सम्बद्ध सम्बाददाता पत्रकार कमला हमाल र चर्च टिभीका संचालक पत्रकार थोमस बोगटी सम्मानित हुनुभएको छ ।

लामो समयदेखि पैरवीका क्षेत्रमा पत्रकारितामार्फत समुदायमा योगदान पुराएका पत्रकार हमाल र पत्रकार बोगटीलाई आज ललितपुरमा सम्पन्न मिडिया एड्भोकेसी फोरम नेपालको दोश्रो वार्षिक साधारणसभाको अवसरमा प्रमुख अतिथि संघिय संसद अतहर कमाल मुसलमानले सम्मानित गर्नुभएको हो ।

माफ नेपालले हरेक वर्ष आफ्नो स्थापना दिवस (असोज २) गते प्रदान गर्दै आएको उक्त पुरस्कार यस वर्ष कोरोना महामारीका कारण वार्षिक साधारणसभामा प्रदान गरिएको हो । त्यस्तै, माफ नेपालले समाज तथा राष्ट्रमा योगदान पुर्याउनुभएका समाजसेवीहरूको योगदानको कदर गर्दै नेपाल महिला विश्वासी संघका निर्देशक द्रौपदी रोकाया, सुन्दरढोका साथीसेवाका कार्यकारी निर्देशक विकास अधिकारी, नेपाल पास्टर काउन्सिलका अध्यक्ष जीत बहादुर खातीलाई, नेपाल ख्रीष्टियन मण्डली महासंघका अध्यक्ष डा. सुवास सुब्बा लिम्बु र राष्ट्रिय गिर्जाघर (चर्च) महागुठी नेपालका सह-संयोजक डा. किरण कुमार दासलाई कदर पत्रले सम्मान’ प्रदान गरिएको छ भने आशा नेपालका कार्यकारी निर्देशक बिमला थापा, सिसिबिएनका संस्थापक निर्देशक डा. महेन्द्र भट्टराई र कार्यक्रमका प्रमुख अतिथि संघिय संसद अतहर कमाल मुसलमानलाई अल्पसंख्यक समुदाय र वर्गको पक्षमा सदन र आफनो ठाउँबाट उल्लेख्य भुमिका निर्वाह गरिएको भन्दै प्रशंसा पत्र प्रदान गरिएको छ ।

सभाको उदघाटन गर्दै संघिय संसद मुसलमानले आमसंचारको शक्तिलाई प्रयोग गरी अल्पसंख्यक धार्मिक समुदाय, दलित, उत्पीडित, उपेक्षित तथा सीमान्तकृत बर्ग समुदायको आवाज राज्यको पहुँचमा पुर्याउन पत्रकारितामार्फत पैरवी गर्ने कार्यमा मिडिया एड्भोकेसी फोरमको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

उहाँले आवाजबिहिनहरुको आवाजलाई सञ्चारको माध्यमबाट राज्यको पहुँचमा पुर्याउन पैरवी गर्ने र उनीहरुको अधिकार तथा पहिचान स्थापित गराई आपसी सद्भावका साथ समृद्ध राष्ट्र निर्माण गर्ने कार्यमा फोरमले पैरवी पत्रकारिताको क्षेत्रको भूमिका बढाउन सकिने बताउनुभयो ।

सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटाले पत्रकारले आफूले लेख्ने समाचारलाई स्थानीय नठान्न र बिश्वस्तरिय पाठक, स्रोता र दर्शक कहाँ पुग्ने समाचार उत्पादन गर्न अनुरोध गरे । सञ्चार रजिष्ट्रार सापकोटाले भने ‘पत्रकारितालाई गुणस्तरिय बनाउन ज्ञान सिप र क्षमतालाई पनि अभिवृद्धि गर्दै लैजानु अहिलेको आवश्यकता हो ।’

संस्थाका अध्यक्ष बिदुर अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धार्मिक समुदायबाट र सामाजिक क्षेत्रमा बिशेष योगदान पुराउनु भएका उपस्थित विशिष्ट ब्यक्तित्वहरुले आफ्ना भनाइसहित माफ नेपालको सफलताको शुभकामना दिएका थिए । संस्थापक सदस्य सुशील भट्टले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रम माफ नेपालका महासचिव निरोज तोलाङेले सञ्चालन गर्नुभएको थियो ।

पैरवी पत्रकारहरूको साझा मञ्च मिडिया एड्भोकेसी फोरम नेपालले उत्पीडनमा परेको सिमान्तकृत, शोषित, दलित, उत्पीडित उपेक्षित वर्ग समुदाय जो आवाजविहीनहरु छन् उनीहरुको अधिकार तथा विभिन्न मुद्धामा राज्यबाट र प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा सतावट भोगेकाहरूका लागि पत्रकारितामार्फत आवाज उठान गरी उनीहरुको अधिकार र पैरवीका सम्बन्धमा तदारूकताका साथ सम्बन्धीत पक्षसँग निरन्तर पहल गर्दै शान्तिपूर्ण र सदभाव्युक्त नेपाली समाज निर्माणमा सहयोग पु-याउदै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button