मूल खबर

पार्टीको राजनीतिक चरित्रका सन्दर्भमा कडा बहससहित जनजागरण पार्टीको स्थायी समिति बैठक सकियो

काठमाडौं । जनजागरण पार्टी नेपालको केन्द्रीय स्थायी समिति तथा पुनर्ताजगी भेला धुलिखेलमा सम्पन्न भएको छ ।

सोमवार पार्टी अध्यक्ष डा. वि.पी. खनालको अध्यक्षतामा बसेको स्थायी समितिको बैठकले पार्टीको राजनीतिक चरित्र वा कित्ताकाटका सन्दर्भमा कडा बहससहित व्यापक छलफल गरेको छ ।

अध्यक्ष डा. खनालले पार्टी अतिवादी सिद्धान्तमा नलाग्ने, तर सम्वर्धनवाद र संविधानवादको मर्मअनुसार नागरिक स्वतन्त्रता र सम्प्रभुता, उदारवादी लोकतन्त्रको पक्षमा दृढ भएर उभिने बताउनु भएको छ ।

पार्टीको केन्द्रीय समितिको आयोजना तथा सचिवालयको संयोजनमा प्रशिक्षणसहित सम्पन्न भेलामा पार्टीको परिकल्पना, लक्ष्य, कार्यक्रम, राष्ट्रिय स्वयंसेवक अभियान, देशले सामना गरिरहेका ५ वटा समस्या, तिनको सम्बोधनका उपाय तथा स्वयंसेवा अभियान, राष्ट्र निर्माणमा ऐक्यपहल र देशको वर्तमान अवस्था र त्यसमा एक राजनीतिक दल र शक्तिको रूपमा कसरी योगदान र हस्तक्षेप गर्नेसम्मका विषय समावेश गरिएको पार्टी प्रवक्ता विदुर अधिकारीले जानकारी दिए ।

भेलाले पदाधिकारीहरूको आपसी परिचय र बुझाबुझ कार्यक्रमदेखि पार्टीको मार्गनिर्देशक सिद्धान्त, संगठन विस्तार र सशक्तिकरण, चुनावी रणनीति र तालमेल लगायतका विषयमा सहअध्यक्ष सुनिल महर्जन, महासचिव रोशन खतिवडा, उपाध्यक्ष द्धारिका श्रेष्ठ लगायतका नेताहरुले आआफना धारणा राखेका थिए ।

पार्टी प्रवक्ता अधिकारीले निश्चित राजनीतिक वाद सिद्धान्तको महत्त्व, विकासका क्रममा मानवीय जीवन र स्वतन्त्रताको मूल्य विषयमा प्रस्तुति दिँदै, विकासका लागि व्यक्तिको जीवन र स्वतन्त्रताको बलिदानको इतिहासले न त विकास न त स्वतन्त्रता नै बचेको स्पष्ट पार्दै बहुलवाद र सम्वर्धनवाद नै उपयुक्त हुने दाबी गर्नुभयो ।

भेलाले विभिन्न बिषयमा छलफल तथा निर्णय गर्दै थप विभाग तथा जनवर्गीय संगठनहरूसमेत गठन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button