
काठमाडौं । दशैंका लागि असोज ११ देखि अग्रिम टिकट बुकिङ खुलाइने भएको छ । काठमाडौं उपत्यकाबाट बाहिरिनेहरुका लागि यही असोज ११ गतेदेखि लामो दूरीमा चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाइने भएको हो ।
यातायात व्यवस्था विभागले बिहीवार यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको छलफलपछि असोज ११ गतेदेखि लामो दूरीमा चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको हो ।
यसअघि वर्षाका कारण सडकमा धेरै क्षति पुगेको र सवारी साधन सञ्चालन गर्न समस्या रहेको बताउँदै यातायात व्यवसायीले सडक मर्मत गरेर मात्र दशैंको अग्रिम टिकट खोल्नुपर्ने बताउँदै आएका थिए ।
शुक्रबार सडक मर्मत सम्भारको विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव शिशिरकुमार ढुंगानासँगको छलफलपछि उचित निर्णय लिने सहमति भएपनि अग्रिम टिकट बुकिङ खोल्न तयार भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए ।
सडकका कारण समयमा गाडी आउन नसके त्यसको जवाफदेही आफूहरु नहुने पनि उनले बताए । महासंघले भाडा समायोजनको विषयमा संघीय सरकारले निर्णय गरेको तर, कतिपय प्रदेश सरकारले अझै भाडा समायोजन नगरेकाले तत्काल भाडा समायोजन गर्न माग गरेको छ ।
अनलाइन प्रविधिमार्फत् बुकिङ गर्न चाहनेले बुकिङ गर्ने व्यवस्थाको सुरुवात गरेका यातायात कम्पनीहरुबाट सहजै बुकिङ गर्न सक्ने उनको भनाई छ ।



