
असोज १४, २०७८
एजेन्सी – इटालियन क्लब युभेन्ट्सले युइएफए च्याम्पियन्स लिगमा साविकको विजेता इंग्लिस क्लब चेल्सीलाई पराजित गरेको छ ।दोस्रो हाफमा फेडरिको चिइसाको गोलमा युभेन्ट्सले घरेलु मैदानमा चेल्सीलाई १–० ले पराजित गरेको हो ।
घरेलु टोलीविरुद्ध बल पोसेसन राख्दै दवाव बढाएपनि चेल्सी फिनिसिङमा चुक्दा समूह चरणमा पहिलो हार बेहोर्न पुग्यो । एलिएन्ज एरिना टुरिनमा बुधबार राति भएको खेलको सातौ मिनेटमा रोमेलु लुकाकुको प्रहारलाई युभेन्ट्सका गोलरक्षक वजनिएस सिजेस्नीले बचाउँदा चेल्सीले अग्रता लिन सकेन ।
२०औं मिनेटमा फेडरिको चिइसाको प्रयासलाई आन्द्रेएस क्रिस्टेन्सनले विफल पारिदिए । ४५औं मिनेटमा मार्काेस अलन्सोको कर्नरमा थियागो सिल्भाको हेडरलाई म्याथ्थिज डि लेग्टले विफल पारिदिए । दोस्रो हाफको शुरुमै ४६औं मिनेटमा फेडरिको चिइसाले गोल गर्दै युभेन्ट्सलाई १–० को अग्रता दिलाए । उनले फेडरिको बर्नरडेस्चीको पासमा गोल गरेका थिए ।
६४औं मिनेटमा फेडरिको बर्नरडेस्चीको प्रहारलाई पोस्ट नजिकैबाट बाहिरिदा युभेन्ट्स अग्रता दोब्बर पार्नबाट चुक्यो । ७४औं मिनेटमा कलुम हड्सन ओडोईको पासमा काई हाभर्टजको हेडर सदुपयोग हुन नसक्दा चेल्सी बराबरीबाट चुक्यो । ८३औं मिनेटमा रोस बार्कलेले पासमा लुकाकुको प्रहार बारमा लाग्दै फर्कदा लियोनार्दाे बोनुचीले क्लियर गरिदिए ।
त्यसपछि थप आक्रमण भएपनि सदुपयोग हुन नसक्दा चेल्सीले हार बेहोर्न पुग्यो । यो जितपछि युभेन्ट्स समूह ‘एच’ मा २ खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित चेल्सी ३ अंकसहित दोस्रो स्थानमा रहेको छ ।
यही समूहको अर्काे खेलमा जेनिथ सेन्ट पिटसवर्गले १० खेलाडीमा समेटिएको माल्मोमाथि ४–० को फराकिलो जित निकालेको छ । जेनिथको जितमा क्लाउडिनो, डालेर कुजाएभ, एलेकसेइ सुटोरमिन र वेन्डेलले गोल गरे ।
५३औं मिनेटमा एनिल एहमेधोडजिक सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि माल्मो समस्यामा परेको थियो । त्यो अघि नै जेनिथले २–० को अग्रता बनाइसकेको थियो । यो जितपछि जेनिथले दुई खेलबाट ३ अंक जोडेको छ । माल्मो अंकविहीन हुदै पुछारमा छ ।hamrokhelkud/from



