
असोज १८, २०७८
एजेन्सी – इटालियन सिरी ‘ए’ को शीर्ष दुईमा रहेका नेपोली र एसी मिलानले आफ्नो अपराजित यात्रालाई कायमै राख्न सफल भएका छन् । शीर्षस्थानमा रहेको नेपोलीेले घरेलु टोली फियोरेन्टिनालाई २–१ ले पराजित गर्दै लगातार सातौ जित निकालेको हो ।
नेपोलीको जितमा हिर्भिङ लोजानो र एमिर रहमानीले गोल गरे । घरेलु टोलीका लुकास मार्टिनेजको गोल सान्त्वना बन्यो । खेलको २८औं मिनेटमा लुकास मार्टिनेजको गोलबाट फियोरेन्टिनाले अग्रता लिएपनि नेपोलीले पूनरागमन जित निकाल्न सफल भएको हो ।
३९औं मिनेटमा लोरेन्जो इन्सिग्नेले पेनाल्टी चुकाएपनि सोही मिनेटमा हिर्भिङ लोजानोले गाल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ५०औं मिनेटमा एमिर रहमानीले गोल गर्दै नेपोलीलाई २–१ को जित दिलाए । जितपछि नेपोली ७ खेलबाट २१ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित फियोरेन्टिना १२ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।
यस्तै अर्काे खेलमा एसी मिलानले घरेलु टाली एटलान्टालाई ३–२ ले पराजित गरेको छ । मिलानको जितमा डाभिड कालाव्रिया, सान्द्रो टोनाली र राफयल लियोले गोल गरे । घरेलु टोलीका गुभान जापटा र मारियो पासालिसले गाल फर्काए ।
जितपछि अपराजित रहेको मिलान ७ खेलबाट १९ अंक जोडेर दोस्रो स्थानमा यथावत रहेको छ । पराजित एटलान्टा ११ अंक जोडेर आठौं स्थानमा रहेको छ ।hamrokhelkud/from



