मूल खबर

मेचीनगरको बाहुडाँगीमा मानवसेवा आश्रम निर्माण हुने

२० असोज २०७८
चौतारी पोष्ट अनलाइन

काँकरभिट्टा ।झापाको मेचीनगरमा मानवसेवा आश्रम निर्माण हुने भएको छ । खुल्ला आकाशलाई छानो बनाएर जिवन बिताउन बाध्य घरबार विहिन, बेसहरा, परित्यक्त, असाहय, तथा जीवन नै जोखिममा रहेका सहयोगापेक्षी सडकआश्रित मानवहरुलाई लक्षित गरेर मेचीनगर—४ को बाहुनडाँगीमा तिहारपछि आश्रम निर्माण कार्य शुरु हुने भएको छ ।

स्थानीय रामबहादुर प्रधान, श्रीमती लक्ष्मीमाया प्रधान र पूर्णमाया प्रधानले आश्रम निर्माणका लागि निःशुल्क करोड मुल्य बराबरको दुई कठ्ठा ५ धुर जग्गा उपलब्ध गराएपछि मेचीनगर नगरपालिकाको पहलमा आश्रम निर्माण हुन लागेको हो ।

बुधबार मेचीनगर नगरपालिकाको सभाहलमा मानव सेवा आश्रमको सेवामा दाताहरुबाट अर्पण गरिएको जग्गाको जग्गाधनी प्रमाण पूर्जा हस्तान्तरण तथा झापा जिल्लामा मानवसेवा आश्रमको सेवा विस्तारका लागि आयोजित अन्तरक्रिया कार्यक्रममा यो जानकारी गराईएको हो ।

नगरप्रमुख विमल आचार्यको सभापतित्वमा भएको कार्यक्रममा दाता प्रधान परिवारले उपप्रमुख मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय खेमराज ओझा मानवसेवा आश्रमका केन्द्रीय, प्रदेश नेतृत्व सहितको उपस्थितीमा जग्गाधनी प्रमाणपूर्जा हस्तान्तरण गरेको छ । नगरप्रमुख विमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेती र प्रमुख प्रशासकीय खेमराज ओझाले जग्गाधनी प्रमाणपूर्जा ग्रहण गरेका थिए ।

कार्यक्रममा मानवसेवा आश्रमका संस्थापक राम जी अधिकारीले अबको चारवर्षभित्रमा शारिरीक तथा मानसिक रुपमा अस्वस्थ्य भई खुला आकासमूनि रात विताउन विवश घरबार विहिन,बेसहरा, परित्यक्त, असाहय,तथा जीवन नै जोखिममा रहेका सहयोगापेक्षी सडकआश्रित मानवहरु रहित राष्ट्र नेपाल निर्माण गर्ने प्रमुख उद्घेश्यका साथ मानवसेवा आश्रम अघि बढेको स्पष्ट पारेका थिए ।

नगरप्रमुख आचार्यले यस महानकार्यमा स्थानीय सरकारको पूर्ण साथ सहयोग रहने प्रतिवद्घता व्यक्त गरे । उनले सवैसँग समन्वय र सहकार्य गदैं आश्रम निर्माणमा अघि बढ्ने बताए ।

आगामी दिनमा यसका लागि नगरपालिकाले नगरसभाबाटै वजेट विनियोजन गर्ने नगर उपप्रमुख मीना पोखरेल उप्रेतीले प्रतिबद्धता जनाइन् । आफ्नै नगरमा यस्तो कार्य हुन लागेको भन्दैं उहाँले सवैलाई धन्यवाद समेत दिइन् ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय खेमराज ओझा, नगरपालिकाका ४ नम्बर वडाध्यक्ष नविन वराल, सामाजिक अगुवा नरेश महरा, पुनम दाहाल, राजन भेट्वाललगायतले आफ्ना भनाई राखेका थिए । कार्यक्रममा जग्गादाताहरुलाई माल पहिर्याएर सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button