
कात्तिक ४, २०७८
एजेन्सी – साविकको विजेता इंग्लिस क्लब चेल्सीले युइएफए च्याम्पियन्स लिगमा सानदार जित दर्ता गरेको छ । चेल्सीले घरेलु मैदानमा स्वीडिस क्लब माल्मोमाथि ४–० को फराकिलो जित निकालेको हो ।
चेल्सीको फराकिलो जितमा जर्गिन्होले दुई तथा एन्ड्रिएस क्रिस्टेन्सेन र काई हाभर्टजले समान एक गोल गरे । पहिलो र दोस्रो हाफमा समान दुई गोल सम्भव भएको थियो । स्टामफोर्ड ब्रिज लन्डनमा बुधबार राति भएको खेलको नवौं मिनेटमा नै चेल्सीले एन्ड्रिएस क्रिस्टेन्सेनको गोलबाट अग्रता लिएको थियो । उनले थियागो सिल्भाको पासमा गोल गरेका थिए ।
२१औं मिनेटमा जर्गिन्होले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई पहिलो हाफमा २–० को अग्रता दिलाए । चेल्सीले पहिलो हाफमै चोटका कारण रोमेलु लुकाकु र टिमो वेर्नरलाई सब्सिच्युट गर्नुपरेको थियो । ४८औं मिनेटमा वैकल्पिक खेलाडी काई हाभर्टजले गोल गर्दै चेल्सीलाई ३–० ले अघि बढाए ।
उनले अर्का वैकल्पिक खेलाडी कलुम हड्सन ओडोईको पासमा गोल गरेका थिए । ५७औं मिनेटमा जर्गिन्होले पेनाल्टीमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै चेल्सीलाई ४–० को फराकिलो जित दिलाए ।
यही समूह ‘एच’ को अर्काे खेलमा इटालियन क्लब युभेन्ट्सले रसियन क्लब जेनिथ सेन्ट पिटर्सवर्गलाई १–० ले पराजित गरेको छ । युभेन्ट्सको जितमा डिजान कुलुसेभ्स्कीले निर्धारित समयको खेल सकिन ४ मिनेट बाँकी रहँदा गरेको गोल नै निर्णायक बन्यो ।
यो नतिजा पछि युभेन्ट्स ३ खेलबाट ९ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । चेल्सी ६ अंक जोडेर दोस्रो स्थानमा रहँदा जेनिथको ३ तथा माल्मो अंकविहीन हुदै पुछारमा छ ।hamrokhelkud/from



