स्वास्थ्य

१२ वर्षमाथिकालाई पनि कोरोनाविरुद्धको खोप

७ कार्तिक २०७८
newsofnepal
सरस्वती कर्माचार्य, काठमाडौं ।

१८ वर्षमाथिका नागरिकले मात्रै लगाउन पाएको कोरोनाविरुद्धको खोप अब १२ वर्षमाथिकाले पनि लगाउन पाउने भएको छ । आगामी सोमबार कोभ्याक्स सुविधामार्फत अमेरिकाबाट एक लाख मात्रा फाइजर खोप नेपाल भित्रिएपछि सरकारले १२ वर्षदेखि १८ वर्ष उमेर समूहका दीर्घरोगीलाई उक्त खोप लगाइदिने कार्यक्रम रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता एवं मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले उक्त जानकारी दिनुभएको हो । उहाँले भन्नुभयो– ‘१ लाख मात्रा मात्र फाइजर आउने भएकाले सबैलाई पु¥याउन नसकिने भएकाले अहिलेलाई १२ देखि १८ वर्ष उमेर समूहका दीर्घरोगीलाई मात्र खोप लगाउन लागिएको हो । पछि खोपको थप मात्रा आएपछि फेरि उक्त उमेर समूहका सबैलाई खोप उपलब्ध गराइने योजना रहेको छ ।’

अमेरिकाको फाइजर–बायोएनटेक कम्पनीद्वारा उत्पादित फाइजर खोप १२ देखि १७ वर्ष उमेर समूहका अमेरिकी नागरिकले यसअघि नै लगाइसकेको छ । यूएस फुड एन्ड ड्रग एडनिनिस्ट्रेसनले १६ वर्षमाथिका व्यक्तिलाई फाइजर खोप लगाउन पूर्ण अनुमति दिइसकेको छ भने १२ वर्ष पुगेकालाई भने अनुगमनसहितको पूर्ण अनुमति दिएको छ । उक्त संस्थाले खोपकै कारण युवामा साइड इफेक्टका रूपमा मुटुमा समस्या नदेखिएको पनि स्पष्ट पारेको छ ।

यसैबीच फाइजर–बायोएनटेक कम्पनीले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकामा गरेको खोपको परीक्षण सफल भएको जनाएको छ । कम्पनीले शुक्रबार सार्वजनिक गरेको उक्त उमेर समूहको क्लिनिकल परीक्षणको प्रतिवेदनमा खोप ९० दशमलव ७ प्रतिशत प्रभावकारी भएको पुष्टि भएको उल्लेख छ । प्रतिवेदनमा भनिएको छ– ‘२ हजार २ सय ६८ बालबालिका सहभागी गराइएको उक्त परीक्षणमा एक तिहाइलाई प्लेसेबो औषधि सेवन गराइएको थियो भने दुई तिहाइलाई खोप लगाइएको थियो । परीक्षणमा संलग्न १६ जना बालबालिकामा गरिएको अध्ययनमा औषधि सेवन गराइएका १३ जनालाई कोरोना संक्रमण देखिएको थियो भने फाइजर खोप लगाइएका ३ जनालाई मात्र संक्रमण देखिएको थियो ।’ परीक्षणमा सहभागी बालबालिकालाई १० माइक्रोग्राम परिमाणको दुई मात्रा खोप लगाइएको कम्पनीले जनाएको छ ।

अमेरिकाको यूएस फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसनबाट अमेरिकामा ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकामा फाइजर खोपको प्रयोग गर्न अनुमति पाइसकेको जनाउँदै फाइजर बायोएनटेक कम्पनीले आगामी नोभेम्बर महिनाबाट अमेरिकामा ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि फाइजर खोप लगाउने अभियोन शुरु हुने सम्भावना रहेको जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button