खबर

समान उचाईका प्रतिष्पर्धी

विर्तामोड । एउटै पदमा प्रतिष्पर्धा गर्ने दुई ब्यक्तिको समान योग्यता प्राय विरलै हुन्छ । अझ आफूले जितेपछि गर्ने कामको प्राथमिकता त झन् मिल्दैन । तर झापा कांग्रेसमा यसबर्ष समान योग्यता भएका दुई प्रतिष्पर्धी सभापति पदमा भिड्दैछन् । सभापति पदका आकांक्षी देउमान थेवे र राम कट्टेल पार्टीमा दिएको अवसर, हालसम्म संहालेको जिम्मेवारीका हिसावले समान छन् । हक्की स्वभावका थेवे र अलिक गम्भीर स्वभावका कट्टेल ४ दशक अघिदेखि झापाको राजनीतिमा क्रियाशील छन् ।
नेपाली कांग्रेस प्रतिबन्धित अवस्थामा रहेकै बेला अर्थात एकदलीय राजतन्त्रात्मक शासन ब्यवस्था कायम रहेकै बेला २०३५/०४० को बीचबाट उनीहरु प्रजातान्त्रिक आन्दोलनमा प्रवेश गरेका हुन् । ताप्लेजुङको आम्बेगुदिन गा.वि.समा बसोबास रहेकै बेला २०३६ सालमा नेविसंघबाट कांग्रेसको राजनीतिमा प्रवेश गरेका हुन्–देउमान । सपरिवार बसाई सरेर २०३८ सालमा झापाको कुमरखोदमा आएपछि २०४२ सालबाट झापा कांग्रेसमा आबद्ध भई प्रजातान्त्रिक आन्दोलनमा होमिए उनी । झापा मेचीनगर–१० (तत्कालीन धुलाबारी) मा बसोबास गर्दै आएका कट्टेल पनि २०३५/०३६ सालबाटै प्रजातान्त्रिक आन्दोलनमा होमिएका हुन् ।
२०४६ सालको जनआन्दोलन सफल भएर बहुदलीय ब्यवस्था लागु भएसँगै कांग्रेस सहितका दलहरु खुल्ला राजनीतिमा प्रवेश गरे । २०४६ सालमा थेवे कुमरखोद गा.वि.स.को पार्टी उपसभापति थिए भने कट्टेल धुलाबारी गा.वि.स.को पार्टी सभापति ।
झापा क्षेत्र नं–४ (पहिला कुमरखोद र हाल कनकाई नगरपालिका)–मा स्थायी बसोबास रहेका थेवेलाई नेपाली कांग्रेस झापाले २०४९ सालमा कुमरखोद गा.वि.स. अध्यक्षको टिकट दियो । झापा क्षेत्र नं–१ (साविक ः धुलाबारी हाल मेचीनगर)–का स्थायी बासिन्दा कट्टेललाई धुलाबारी गा.वि.स. अध्यक्षको टिकट दियो । दुवैले विजयी भए र गा.वि.स. अध्यक्षको जिम्मेवारी कुशलतापूर्वक संहाले ।
२०५४ सालको स्थानीय निर्वाचनमा थेवेले पुनः कुमरखोद गा.वि.स. अध्यक्षको टिकट पाए । त्यसबेला धुलाबारी गा.वि.स मेचीनगरमा गाभिइसकेको थियो । उता कट्टेलले २०५४ मा मेचीनगर नगरपालिकामा मेयरको टिकट पाए । थेवे विजयी भए भने कट्टेल त्यसबेला पराजित भएका थिए । यद्यपि उनीहरुको पार्टी जिम्मेवारीको हैसियत भने समान रुपमै अगाडि बढ्दै गयो ।
पार्टीको आठौं महाधिवेशनमा थेवे ४ नं क्षेत्रीय सदस्य बने भने कट्टेल क्षेत्रीय सचिव । ९ औं १० औं र ११ औं महाधिवेशनमा थेवे क्षेत्रीय सभापति बने । तीन कार्यकालसम्म क्षेत्रीय सभापतिको कुशल नेतृत्व गरेपछि उनको यात्रा जिल्ला पदाधिकारीतर्फ मोडियो । उनी १२ औं महाधिवेशनमा जिल्ला उपसभापति बने । १२ औं महाधिवेशनमा जिल्लाको नेतृत्व उद्वव थापाले गरे । उनी विश्वप्रकाश शर्मालाई पराजित गर्दै सभापतिको जिम्मेवारीमा पुगेका थिए । थापाले आसन्न महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा गरिसकेका छन् ।
यस्तै १४ औं महाधिवेशनमा आइपुग्दा पार्टी सभापतिका आकांक्षी उम्मेद्वार राम कट्टेलले पनि ९ औं र १० आंै महाधिवेशनमा १ नं क्षेत्रीय सभापतिको जिम्मेवारी सफलतापूर्वक पूर्ण गरेका थिए । ११ औं महाधिवेशनमा कट्टेल महाधिवेशन प्रतिनिधि बने । १२ औं महाधिवेशनमा आइपुग्दा कट्टेलको राजनीतिक यात्रा पनि जिल्ला पदाधिकारीमै मोडियो । उक्त महाधिवेशनमा उनी नेपाली कांग्रेस झापाका कोषाध्यक्ष बने । त्यसो त विभिन्न सामाजिक संघ–संस्थाको समेत नेतृत्व गरेका कट्टेल धुलाबारी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका संस्थापक अध्यक्ष, धुलाबारी क्याम्पसका संस्थापक उपाध्यक्ष एवं पछि अध्यक्ष बनेका उनले मेची अञ्चल अस्पतालको ब्यवस्थापन समिति अध्यक्षको जिम्मेवारी पनि कुशलतापूर्वक संहाले । सरकारी पदीय दायित्वमा रहँदा सरकारी सेवा सुविधा नलिई जिम्मेवारी संहालेको उनलाइ जान्नेहरु बताउँछन् ।
१३ औं महाधिवेशनमा नै सभापतिको उम्मेद्वारी घोषणा गरेका थिए–देउमान थेवेले । तर त्यसबेला जिल्लाका शीर्ष नेतृत्वहरु बसेर १३ औं अधिवेशनमा दोस्रो कार्यकालका लागि उद्वव थापालाई सर्वसम्मत रुपमा सभापति बनाउने सहमति गरेपछि थेवेले सर्वसम्मत नेतृत्व चयनका लागि मार्ग प्रशस्त गर्दै उम्मेद्वारी फिर्ता लिएका थिए । १२ औं महाधिवेशनका प्रतिष्पर्धी उम्मेद्वार विश्वप्रकाश शर्माले पनि १३ औं महाधिवेशनमा थापालाई सर्वसम्मत बनाउन सकारात्मक भूमिका खेलेको कांग्रेसका अग्रज नेताहरु बताउँछन् । शर्माले १४ औं महाधिवेशनका लागि महामन्त्री पदमा उम्मेद्वारी घोषणा गरेका छन् ।
१३ औं महाधिवेशनमा कट्टेल जिल्ला उपसभापति बनेका थिए । उनी पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठान झापा संयोजक बने भने थेवे महाधिवेशन प्रतिनिधि हुँदै भातृ संघसंस्था विभाग प्रमुख बने । २०७४ सालको संसदीय निर्वाचनमा थेवेले क्षेत्र नं–४ बाट संघीय सांसदको टिकट पाए पनि पराजित बन्नुप¥यो । २०४६ र २०६२/०६३ को जनआन्दोलनमा समेत उत्तिकै सक्रिय यी दुई नेतामध्ये राम कट्टेल २०६२/०६३ को जनआन्दोलनमा झापाको चन्द्रगढीबाट पक्राउ परेका थिए । उनलाई २५ दिनसम्म हिरासतमा राखिएको थियो।
पार्टीमा प्राप्त अवसर, जिम्मेवारी र कार्यकुशलताका दृष्टिले समान योग्यता रहेका देउमान थेवे र राम कट्टेल अहिले जिल्ला सभापतिको दौडमा छन् । कार्यकर्तासँगको भेटघाटलाई तीब्र पारेका उनीहरु सभापतिको उम्मेद्वार बन्न अब एक खुड्किलो पार गर्न चाहिं बाँकी नै छ अर्थात क्षेत्रीय अधिवेशनमा महाधिवेशन प्रतिनिधि पदमा विजयी भएपछि मात्रै सभापति पदको उम्मेद्वार बन्न सक्ने पार्टीको विधान छ । शैक्षिक आधारमा चाहिं कट्टेलले एम.ए. अध्ययन गरेका छन् भने थेवेले आइ.ए. सम्मको अध्ययन पुरा गरेका छन्। नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले आगामी मंसिर १० गतेका लागि जिल्ला अधिवेशन तय गरिसकेको छ ।
झापाली राजनीतिमा विगतदेखि वर्तमानसम्मको राजनीतिक इतिहास केलाउँदा विचार प्रवाहका दृष्टिले सि.के. प्रसाईको कार्यकाललाई महत्वपूर्ण मानिन्छ भने सांगठनिक रुपमा कृष्ण सिटौलाको कार्यकाल महत्वपूर्ण मानिन्छ । अर्थात बैचारिक आधार सि.के. प्रसाईको पालादेखि र सांगठनिक आधार कृष्ण सिटौलाको कार्यकालदेखि बृहद रुपमा विस्तार भएको पाइन्छ । त्यही आधारमा टेकेर झापा कांग्रेसको राजनीति अघि बढेको जानकारहरु बताउँछन् । सांगठनिक आधार कृष्ण सिटौलाकै नेतृत्वमा बनेकाले पनि झापाली राजनीतिमा सिटौलाले संकेत गरेको नेतृत्व अहिलेसम्म निर्वाचित हुँदै आएको छ ।
सभापतिका प्रतिष्पर्धी दुवै नेता अर्थात थेवे र कट्टेल १२ औं महाधिवेशनसम्म सिटौला खेमाकै राजनीतिमा सक्रिय थिए । १३ औं महाधिवेशनमा वर्तमान पार्टी सभापति शेरबहादुर देउवाको प्यानलको प्रतिनिधित्व गर्दै थेवेले सभापति पदमा उम्मेद्वारी दिएका थिए भने ‘थेवेको राजनीतिक संरक्षण गर्ने’ भन्ने अग्रज नेताहरुको लिखित सहमतिपछि उनी पछि हटेका थिए । उनी पुनः सिटौला प्यानलमै फर्किए ।
१४ औं महाधिवेशन नजिकिएसँगै अहिले थेवे र कट्टेल दुवैले आफूहरु ‘सिटौलाकै प्यानलबाट सभापतिको उम्मेद्वार बन्ने’ बताउँदै आएका छन् । केन्द्रीय सभापति पदका आकांक्षी एवं झापामा विशेष राजनीतिक प्रभाव राख्ने कृष्णप्रसाद सिटौलाले आफ्नो प्यानलको आधिकारिक उम्मेद्वार को हो ? भन्ने औपचारिक रुपमा सार्वजनिक गरेका छैनन् । तर पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अधिकतम कार्यक्रमहरुमा सहभागी हुँदै सँगसँगै हिंडिरहेका कट्टेललाई शर्माको समर्थन रहेको प्रचार भइरहेपनि शर्माले पनि औपचारिक रुपमा आफ्नो उम्मेद्वार को हो भन्ने खुलाएका छैनन् । पार्टी सभापति उद्वव थापा, आमन्त्रित केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटी लगायत नेताहरुको अधिकतम कार्यक्रममा सहभागी भइरहेका थेवेलाई सिटौलाको समर्थन रहेको प्रचार भइरहेको छ ।
अहिलेसम्म राजनीतिक जिम्मेवारीका हिसावले पार्टीमा समान अवसर पाएका र समान हैसियत बनाएका यी नेताहरुको अर्को रोचक पक्ष भनेको बुवाहरुको राजनीतिक जिम्मेवारी पनि हो । देउमान थेवेका बुवा कीर्तिमान थेवे ताप्लेजुङ जिल्लाको साविक आम्बेगुदिन गाउँ पञ्चायतको १८ बर्षसम्म प्रधानपञ्च भएका थिए भने राम कट्टेलका बुवा डिल्लीराम कट्टेल झापाको साविक बाहुनडाँगी गाउँ पञ्चायतको १८ बर्षसम्म नै प्रधानपञ्च बनेका थिए ।
सभापतिका आकांक्षी दुवै नेताले आफ्नो जित्ने आधारचाहिं नेता कार्यकर्ताको समर्थन र विश्वासलाई लिएका छन् । तपाइको जित्ने आधार के र जित्नुभयो भने तीनवटा प्राथमिकता के–के हुन ? भनी सोधिएको प्रश्नमा थेवेले भने–‘१३ औं महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्दै गर्दा मलाई सभापति बनाउने सहमति भएको थियो । त्यसमा झापाका सबै अग्रज नेताहरुले हस्ताक्षर गर्नुभएको छ । सबै नेताहरुको सहयोग र कार्यकर्ताहरुको विश्वास नै मेरो जित्ने आधार हो ।’पार्टीले आफूलाई दिएको जिम्मेवारी पूर्ण गरेको र कार्यकर्ताको हरेक विपदमा प्रत्येक कार्यकर्ताका साथमा पुगेको बताउँदै नेता थेवेले सभापतिमा जितेपछि गर्ने तीन प्राथमिकता सुनाए–‘पार्टी संगठनलाई चुस्त दुरुस्त बनाउँछु, २४ सै घण्टा पार्टीको काममा सक्रिय रहन्छु, आम निर्वाचनमा पार्टीका उम्मेद्वारलाई जिताउने आधार तय गर्ने काम गर्नेछु । ’
त्यसो त यसअघि पार्टीले दिएका हरेक जिम्मेवारी इमान्दारीपूर्वक गरेकै कारण आफूलाई सबै नेता कार्यकर्ताको समर्थन रहने विश्वास राम कट्टेलले पनि ब्यक्त गर्दै भने–‘हिजोदेखि आजसम्म आउँदा पार्टीले दिएको हरेक जिम्मेवारी कुशलतापूर्वक पुरा गरेको छु, कुनै कार्यकर्ताको शीर निहुरिने काम गरेको छैन । निष्ठा र इमान्दारपूर्वक राजनीति गरेको छु, गर्छु । मलाई सबै नेता कार्यकर्ताले विश्वास गरेर नेतृत्वको अवसर दिनुहुनेछ ।’
उनले पनि आफू सभापति बनेपछि गर्ने कामका प्राथमिकताबारे भने–‘पार्टी संगठनलाई टोल तथा वार्डतहदेखि बलियो बनाउँछु, भ्रष्टाचार अन्त्यका लागि अभियान सञ्चालन गर्छु, पार्टीलाई एकताबद्ध बनाएर आम निर्वाचनमा पार्टीको उम्मेद्वारको जीत सुनिश्चित गर्नेछु ।’
पार्टीभित्र झण्डै चार दशकको योगदान पु¥याएका यी दुई नेतामध्ये कसले क्षेत्रीय सदस्यको विश्वास जित्ने हो ? त्यो हेर्न भने जिल्ला अधिवेशनको परिणाम कुर्नैपर्छ । पार्टीको अधिवेशनका गतिविधिहरु तीब्र भइरहँदा आन्तरिक प्रतिष्पर्धामा आकांक्षी देखिनुु, नेताप्रति कार्यकर्ताको समर्थन रहनु, विश्वास गर्नु र मतदान गरेर नेतृत्व चयन गर्नु सामान्य लोकतान्त्रिक प्रक्रिया हो ।
तर अधिवेशनपछि पार्टीभित्र देखिने चरम गुटबन्दीको अन्त्य गरेर पार्टी संगठनलाई बलियो बनाउँदै नेतृत्वको ‘चेन अफ कमाण्ड’मा चल्ने पद्धतिको विकास गर्नु अब निर्वाचित नेतृत्वको दायित्व हो भन्ने कुरामा कार्यकर्ता पंक्ति एकमत छन् । कार्यकर्ताको यो भावना ब्यवहारिक रुपमा संवोधन गर्न सक्छन् वा सक्दैनन् भन्ने चुनौती निर्वाचित नेतृत्वमा छ ।janaandolan.com/from

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button