खबर

वायु प्रदूषण बढ्दै, स्वास्थ्यमा चुनौती

काठमाडौं ,मंसिर १२, २०७८
केही दिनयता देशका विभिन्न स्थानको वायु प्रदूषण बिग्रिदै गएपछि स्वास्थ्यमा चुनौती थपिएको छ । स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने वायुको गुणस्तर बिग्रँदै जाँदा विशेषगरी बालबालिका, वृद्धवृद्धाको स्वास्थ्यमा बढी असर पर्न थालेको छ ।

वरिष्ठ छाती तथा श्वासप्रश्वास रोग विशेषज्ञ डा. राजु पङ्गेनीले वायु प्रदूषणले गर्दा बालबालिका तथा वृद्धवृद्धालाई बढी असर गर्ने बताए। उनले प्रदूषणका कारण रुघाखोकी, घाँटीको एलर्जी, फोक्सोसम्बन्धी रोग, बालबालिकामा ब्रोङ्काइटिक्सलगायतका रोग लाग्न सक्ने बताए । डा. पङ्गेनीले बालबालिकालाई श्वासप्रश्वासमा समेत असर गर्ने भएकाले सचेत रहन आग्रह गरे । उनले भने, “यदि घरबाहिर निस्कनै परेमा विशेष सावधानी अपनाउनुपर्छ । अत्यधिक वायु प्रदूषण बढ्दा फोक्सोसम्बन्धी बिरामीलाई झन् असर पर्ने डा. पङ्गेनीको भनाइ छ । वायु प्रदूषणका कारण रुघाखोकी लाग्ने, घाँटीमा समस्या हुने, घाँटी खसखस हुने, चिलाउने, घाँटीको एलर्जी हुने गर्छ ।

यसैगरी, वीर अस्पतालमा कार्यरत वरिष्ठ छातीरोग विशेषज्ञ डा. अशेष ढुङ्गानाले प्रदूषणले दीर्घरोगीलाई मात्र नभई, स्वस्थ व्यक्तिलाई समेत असर गर्ने बताए । उनले दम, मुटु, छातीको समस्या भएका बिरामीलाई असर गर्ने भएकाले विशेषगरी दीर्घरोगीले सचेतना अपनाउनुपर्ने बताए । उनले अहिलेको वायु प्रदूषणबाट जोगिनलाई ‘मर्निङवाक’ नगर्ने, घरबाहिर निस्कँदा अनिवार्य मास्क लगाएरमात्र निस्कने, वायु प्रदूषण भएका बेला कठिनखालका शारीरिक अभ्यास नगर्ने, वायु प्रदूषणबाट आँखा जोगाउनका लागि चस्मा प्रयोग गर्नुपर्ने बताए । गोरखापत्र दैनिकमा  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button