खेलकुद

लाइप्जिगसँग म्यानचेस्टर सिटीको हार

मंसिर २२, २०७८
एजेन्सी – च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान पक्का गरिसकेको इंग्लिस क्लब म्यानचेस्टर सिटीले समूह चरणको अन्तिम खेलमा हार बेहोरेको छ ।

सिटीले जर्मन क्लब आरबी लाइप्जिगसँग उसकै मैदानमा २–१ को हार बेहोरेको हो । लाइप्जिगको जितमा डोमिनिक सोबोस्लाई र आन्द्रे सिल्भाले गोल गरे । सिटीका रियाद महारेजले एक गोल फर्काए ।

रेडबुल एरिना लाइप्जिगमा मंगलबार राति भएको खेलको २४औं मिनेटमा डोमिनिक सोबोस्लाईको गोलबाट घरेलु टोलीले अग्रता लिएको थियो । उनले कोनरड लेइमेरको पासमा गोल गरेका थिए । ७१औं मिनेटमा आन्द्रे सिल्भाले गोल गर्दै लाइप्जिगको अग्रता दोब्बर पारे । उनले इमिल फोर्सवर्गको पासलाई सदुपयोग गरेका थिए ।

७६औं मिनेटमा रियाद महारेजले ओलेक्सन्डर जिन्चेन्कोको पासमा गोल गर्दै सिटीलाई खेलमा फर्कने संकेत दिए । तर, ८२औं मिनेटमा केल वाल्कर सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि सिटी खेलमा फर्कन सकेन ।

यो हारको बावजुत सिटी समूह ‘ए’ मा ६ खेलबाट १२ अंक जोडेर शीर्षस्थानमा रह्यो । सिटीलाई हराएको लाइप्जिग ७ अंक जोडेर तेस्रो स्थानमा रहँदै छनोटको अन्त्य गर्‍यो ।

यही समूहको अर्काे खेलमा पिएसजीले क्लब ब्रुगमाथि ४–१ को सानदार जित निकालेको छ । पिएसजीको जितमा लियोनेल मेस्सी र केलियन एमबाप्पेले समान दुई गोल गरे । क्लब ब्रुगका माट्स रिट्सले एक गोल फर्काए । यो जितपछि पिएसजी ११ अंक जोडेर दोस्रो स्थानमा यथावत रह्यो । क्लब ब्रुग ४ अंक जोडेर पुछारमा रह्यो ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button