
बिर्तामोड। झापाको बिर्तामोडमा प्रेसर कुकर बम राखेर आतङ्क मच्चाएको अभियोगमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । गएको माघ ९गते बिर्तामोडको पश्चिम बस स्टेन्डमा प्रेसर कुकर बम जस्तो देखीने बिष्पोटक पदार्थ राखेर आतंक मच्चाउने उनिहरुलाइ पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा गौरादह नगरपालिका–२ का ठेक्कापट्टा ब्यवसायी सुमनकुमार कार्की, गौरादहकै प्रदीप थापा, कनकाई नगरपालिका–३ का भिष्म थापा, दमक नगरपालिका–९ चिया दोकान घर भएका देबी बाँस्कोटा, पुजारीको रुपमा काम गर्दै आएका कुमार भनिने यमदत्त सिटौला, सरुण लिम्बु भनिने दिलकुमार सामेखाम, मोरङको सुन्दर हरैचा बस्ने मनमोहन दाहाल, अनन्त प्रसाद गिरी, गौरीगञ्जका बिजयकुमार दास हलुवाई रहेको प्रहरीले जनाएको छ ।
घटनाका योजनाकार गौरादह नगरपालिका–२ का ठेक्कापट्टा ब्यवसायी सुमनकुमार कार्की रहेको झापा प्रहरी प्रमुख बिश्वमणि पोखरेलले जानकारी दिएका छन् । कार्की बैदेशिक रोजगार ठगी मुद्दामा २२ महिना जेल सजाय भोगेर २०७७ फागुनमा रिहा भएका ब्यक्ति हुन् । प्रहरीले कार्कीको घरबाट ३० ग्राम लागु औषध ब्राउन सुगर समेत बरामद गरेको जनाएको छ ।
पक्राउ परेका उनीहरुको साथबाट बिभिन्न कम्पनिको मोवाईल, सिमकार्ड, पर्चा, पम्प्लेट, चन्दा रसिद लगायतका सामग्री बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ परेका सबै माथी म्याद थप गरेर अनुसंधान शुरु गरेको जनाएको छ ।



