मूल खबर

एमसिसी विवादले सत्ता गठबन्धन धरापमाः देउवा पुगे ओली निवास

टपेन्द्र कार्की
काठमाडौँ
पाँचदलीय सत्ता गठबन्धनभित्र खटपट उत्पन्न भएपछि बिहीबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्। पत्नी आरजुलाई लिएर देउवा बालकोट पुगेका हुन्।

सत्ता गठबन्धनमा आबद्ध कम्युनिस्ट दलका नेताहरू एमसिसीलाई संसद्मा पेस गर्न राजी नभएपछि देउवा प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष ओलीको साथ खोज्न बालकोट पुगेका हुन्।

गठबन्धनबाट बाहिर पनि निस्कन नचाहने र सरकारलाई सदनमा एमसिसी पेस गर्न पनि नदिने नीति सत्ता साझेदार नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले लिएपछि सरकारको नेतृत्व गरेको कांग्रेस र प्रधानमन्त्री देउवा रुष्ट छन्। कांग्रेसले प्रधानमन्त्रीलाई गठबन्धन टुटे पनि एमसिसी सदनमा पेस गर्न गर्न अधिकार दिइसकेको छ।

बालकोटमा देउवाले ओलीलाई संसद्मा जारी विरोध रोक्न आग्रह गर्दै एमसिसी पारितमा सघाउन आग्रह गरेका थिए। ‘संसद् खोल्नुस्, अवरोध नगर्नुस्, मिलेर एमसिसी पास गरौं भन्ने प्रधानमन्त्री देउवाको प्रस्ताव थियो’, ओलीनिकट स्रोतले भन्यो। तर ओलीले यी विषयमा आफ्नो पार्टीको पूर्ववत् अडान कायमै रहेको बताएका थिए। ओलीले सभामुखले मार्गप्रशस्त गर्नुपर्ने वा एमालेले १४ जना सांसदलाई गरेको कारबाहीलाई सदर गर्नुपर्ने अडान दोहोर्‍याएका थिए।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल एमसिसीलाई संशोधन नगरी संसद्मा पेस गर्न नसकिने भन्दै पन्छिन खोजेपछि कांग्रेसले एमालेका नेताहरूसँग भेटघाट बढाएको छ।

सत्ता गठबन्धनभित्र एमसिसी अनुमोदनको विषयलाई लिएर पटकपटक वार्ता भइरहँदा कांग्रेसका नेताहरूले एमालेका नेतासँग पनि संवाद गरिरहेका थिए, छन्। बिहीबार बिहान पनि कांग्रेस नेता मीनेन्द्र रिजाल ओलीलाई भेट्न बालकोट पुगेका थिए। यसअघि सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ओलीसँग पटकपटक प्रत्यक्ष भेटघाट र टेलिफोनमा कुराकानी गरिरहेका थिए।

माओवादी केन्द्र र एकीकृत समाजवादीले शनिबार कांगे्रससँग गरेको सहमति भंग गरेपछि गठबन्धनमा मतभेद चुलिँदै गएको छ। गत शनिबार कांग्रेस, माओवादी र नेकपा एसबीच प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग दर्ता गर्ने र एमसिसी सदनमा टेबुल गर्ने सहमति भएको थियो। प्रधानन्यायाधीशलाई महाभियोग लगाएपछि बसेको सर्वदलीय बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले एमसिसी टेबुल गर्ने संकेत दिएका थिए।

तर माओवादी केन्द्रले एकाएक सहमति उल्लंघन गर्दै एमसिसी सदनमा लैजान नहुने भनेपछि कांग्रेसले एमालेको साथ खोजेको हो। ‘माओवादीले सहमति एउटा गर्ने तर व्यवहार अर्को गर्ने भएकाले समस्या आएको हो। अब यस्तो अवस्था धेरै दिन रहँदैन,’ कांग्रेसका एक नेताले भने।

प्रधानमन्त्री देउवाले शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा एमसिसी सम्झौता टेबुल गर्ने अडान लिएका छन्। सरकारमा सहभागी माओवादी केन्द्र र नेकपा एस भने यसको विपक्षमा उभिएका छन्। ‘गठबन्धनका नाममा अब अहिलेको अवस्था धेरै लब्याउनुहुँदैन,’ बिहीबार साँझ बसेको सत्ता गठबन्धन दलको बैठकमा सहभागी एक नेताले भने, ‘एमसिसीलाई भोलि (शुक्रबार) संसद्मा टेबुल गर्नुपर्छ। टेबुल हुन्छ।’ सत्ता गठबन्धन दलको बिहीबार साँझ बसेको बैठकमा कांग्रेसका नेताले सहमतिमा एमसिसी संसद्मा टेबुल गर्न आग्रह गरेका थिए। तर यो आग्रहलाई माओवादी केन्द्र र नेकपा एसले अस्वीकार गरेपछि गठबन्धनमा दरार उत्पन्न भएको स्रोतले बतायो।nagariknews/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button