
दुर्गापुर ।
झापाको दोमुखामा गएराति आगलागी हुँदा दुई जना जलेर घाइते भएका छन् ।
चौतारी पोष्ट अनलाइनलाई प्राप्त जानकारी अनुसार शिवसताक्षी नगरपालिका वडा नम्बर १० की ४३ वर्षीय बालिका भण्डारी र उनकी १४ वर्षीय छोरी अस्मिता जलेर घाइते भएका हुन् । उनीहरूको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय झिलझिले जनाएको छ ।
पूर्वको पर्यटकीय दोमुखा क्षेत्रमा बिहीबार राति ११ बजेदेखि आगो भड्किएको हो । विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।
आगलागीबाट दोमुखाका चार वटा होटल र एउटा दोमुखा युवा क्लबको कार्यालय पनि जलेर नष्ट भएको छ । स्थानीय हरी भण्डारी, डम्बर मगर, किशोर लिम्बु र जय थपलिया पलियाको होटलमा आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ । दोमुखा धार्मिक तथा पर्यटकीय विकास संस्थाले निर्माण गरेका ती भवन होटलका लागि बहालमा लगाएको थियो । होटलका सबै सामग्रीहरु जलेर नष्ट भएको ईलाका प्रहरी कार्यलय झिलझिलेका प्रहरी निरीक्षक ध्रुवानरयण नारायण श्रेष्ठले बताए ।
आगलागी शुक्रबार बिहान ३ बजे कमल गाउँपालिका, दमक नगरपालिका र बिर्तामोड नगरपालिकाको बारुण यन्त्रले निभाएको थियो । आगो नियन्त्रणका लािग स्थानीय र प्रहरी खटेका थिए। प्रहरीआगलागीबाट के कति क्षति भयो भन्ने यकिन भइनसकेको प्रहरीले जनाएको छ।



