
एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्ष चारको दौडमा रहेको आर्सनल र टोटेनहम हटस्परले हार बेहोरेका छन् । आर्सनलले साउथह्याम्टनसँग १–० हार भोगेको हो ।
सेन्ट मेरिज स्टेडियम साउथह्याम्टनमा शनिबार राति भएको खेलमा घरेलु टोलीको जितमा पहिलो हाफमा जान बेडेनारकले गरेको गोल नै निर्णायक बन्यो । उनले ४४औं मिनेटमा मोहम्मेद इलयुनोउसीको पासमा गोल गर्न सफल भएका थिए ।
एक गोलले पछि परेको आर्सनलले त्यसपछि बल पोसेसन राख्दै घरेलु टोलीलाई लगातार दवाव बढाएपनि गोल गर्न नसक्दा पराजित हुन पुग्यो ।
यो हारसँगै चौथो स्थानमा उक्लने मौका गुमाएको आर्सनल ३१ खेलबाट ५४ अंक जोडेर छैटौं स्थानमा झरेको छ । साउथह्याम्टन ३९ अंक जोडेर १२औं स्थानमा उक्लन सफल भएको छ ।
प्रिमियर लिगकै अर्काे खेलमा टोटेनहम घरेलु मैदानमै ब्राइटनसँग १–० ले पराजित भएको छ । बराबरीतर्फ धकेलिएको खेलको इन्ज्युरी समयमा लियान्द्रो ट्रोससार्डले गोल गर्दै टोटेनहमलाई स्तब्ध पारे ।
यो हारसँगै चौथो स्थानमा रहेको टोटेनहमले तेस्रो स्थानको चेल्सीसँगको अंक दुरी छोट्याउने अवसर गुमाएको छ । अर्काे खेलका आर्सनलको हारले पनि टोटेनहमलाई राहत मिल्यो । टोटेनहम ३२ खेलबाट ५७ अंक जोडेर चौथो स्थानमा रहेको छ । टोटेनहमलाई हराएको ब्राइटन ४० अंक जोडेर १०औं स्थानमा रहेको छ ।हाम्रो खेलकुदबाट ।



