खेलकुद

मिलान ‘डर्वी’मा जित निकाल्दै इन्टर मिलान फाइनलमा

एजेन्सी – अर्जेन्टिनी फरवार्ड लोउटारो मार्टिनेज चम्कदा इन्टर मिलान कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ । मिलानोमा मंगलबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा मिलान डर्वीमा एसी मिलानलाई ३–० ले पराजित गर्दै इन्टरले फाइनलमा स्थान पक्का गरेको हो ।

इन्टरले समग्रमा ३–० को जित निकालेको हो । पहिलो लेग गोलरहित बराबरीमा सकिएको थियो । इन्टरको जितमा लोउटारो मार्टिनेजले दुई गोल गर्दा एक गोल रोविन गोसेन्सको नाममा रह्यो । पहिलो हाफमा दुई तथा दोस्रो हाफमा एक गोल भएको थियो ।

खेलको चौथो मिनेटमा नै मार्टिनेजको गोलबाट इन्टरले सुरुवाती अग्रता लिन सफल भयो । उनले माटियो डरमिएनको पासमा गोल गर्न सफल भएका थिए । ४०औं मिनेटमा मार्टिनेजले जोआक्विन कोरेआको पासमा व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै इन्टरको अग्रता दोब्बर पारे।

त्यसपछि निर्धारित समयको खेल सकिन ८ मिनेट बाँकी रहँदा परिवर्तित खेलाडी रोविन गोसेन्सले गोल गर्दै मिलान डर्वीमा जित पक्का गरे । ७९औं मिनेटमा इभान पेरिसिसको स्थानमा मैदान छिरेका गोसेन्सले मार्सेलो ब्रोजोभिकको पासमा गोल गर्न सफल भएका थिए ।

यो जितसँगै फाइनलमा पुगेको इन्टरले अब उपाधिका लागि युभेन्ट्स वा फियोरेन्टिनाबीचको विजेतासँग ११ मेमा खेल्नेछ । युभेन्ट्स र फियोरेन्टिनाको खेल आज राति हुँदैछ । पहिलो लेगमा युभेन्ट्स १–० ले अघि छ ।हाम्रो खेलकुदबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button