
मेचीनगर। समुदायगत बिकास, सामाजिक रआर्थिक सहुलियत, न्याय, शिक्षा, स्वास्थ्य तथा कृषि जस्ता क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने दायित्व बोकेको नगरपालिकाले लहडका भरमा भ्यूटावर बनाउने नाममा करोडौं रकम जोखिममा परेको छ।
झापाको मेचीनगर नगरपालिका वडा नम्वर ६ स्थित शिवालय मन्दिरको छेउमा भ्यूटावर बनाउने भन्दै मेचीनगर नगरपालिकाकाले करिब छ करोड ४५ लाखको लागत अनुमान सहितको ड्रईङ डिजाइनु तयार पारी बोलपत्र आव्हान गरेको थियो। तीन करोड ७९ लाखमा २०७८ मंसिर ८ भित्र निर्माण सम्पन्न गर्नेगरी निर्माण व्यवसायी कन्काइ इन्टरनेशनल र नगरपालिकाबीच ठेक्का सम्झौता पनि भएको थियो।
तर, बिगत छ महिनादेखि निर्माण कार्य अवरुद्द छ । निर्माण कार्य रोकिएकोबारे निर्माण व्यवसायी किरण मैनालीलाई सोध्दा उनले नगरपालिका ब्यबस्थापनलाई नै दोष दिए। ठेक्का सम्झौता नै गलत गरिएका कारण करिब एक करोड ३९ लाख भन्दा बढी रकमको कामको परिमाण समावेश नगरिएको र उक्त परिमाण थप गर्नका लागी निबेदन दिएकोमा कुनै कारवाही नभएको उनले बताए।ठेक्का सम्झौताको गल्ती नगरपालिकाको हो कि ठेक्दारको? यसबारे नगरपालिकामै बुझ्दा प्रष्ट हुन्छ भनेर उनी पन्छिए।
नगरपालिकाले हालसम्म उक्त भ्यूटावर योजनाका लागि एक करोड भन्दा बढी रकम खर्चिसकेको बुझिएको छ। उक्त योजना प्रदेश सरकारको ७० प्रतिशत र नगरपालिकाको ३० प्रतिशत लागत साझेदारीमा निर्माण गर्ने उद्देश्य थियो। तर,स्रोतको सुनिश्चितता नगरी निर्माण कार्य बढाइनु र गलत ठेक्का व्यवस्थापन गरिनुका कारण निर्माण अवरुद्द भएको जानकारहरु बताउँछन्।
सार्वजनिक खरिद ऐनमा श्रोतको जोहो बिना नै बोलपत्र आव्हान गर्न नपाइने कानुनि प्रावधान छ। तर, त्यसलाई लत्याउँदै नगरपालिकाले हचुवामा बोलपत्र आव्हान गरेका कारण शुरुको ठेक्का अंक भन्दा ३७ प्रतिशत लागत बढ्नेगरी काम गर्नुपर्ने बाध्यात्मक अवस्था आइपरेको छ। त्यसैले नगरपालिका नेतृत्वले सस्तो प्रचारमा भ्यूटावरमा गरेको करोड भन्दा बढी लगानि खेर जाने अवस्थामा पुगेको छ।
जनजिविका, कृषिको उन्नत सुधार, जनस्वास्थ्य, उत्पादन, सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर सुधार, सुकुम्वासी समस्या, मजदुर समस्या, विकास निमार्णमा जनसाझेदारी जस्ता आम सरोकारमा खासै ध्यान नदिने तर सस्तो लोकपृयता र निहित स्वार्थका लागि यसरी भ्यूटावर जस्ता तथाकथित कस्मेटिक लोकप्रियता बटुल्न खोज्ने प्रवृत्तिका कारण जनताको कर दुरुपयोग भएको छ।



