
एजेन्सी – स्कटिस क्लब रेन्जर्स र जर्मन क्लब आइनट्राख्ट फ्रान्कफुर्ट युरोपा लिगको फाइनलमा भिड्ने भएका छन् ।
रेन्जर्सले जर्मन क्लब आरबी लाइप्जिगलाई सेमिफाइनलको दोस्रो लेगमा ३–१ को तथा समग्रमा ३–२ को जित निकाल्दै फाइनलमा स्थान पक्का गरेको छ । रेन्जर्स पहिलो लेगमा १–० ले पराजित भएपनि घरेलु मैदानमा भएको दोस्रो लेगमा जित निकाल्दै फाइनल पुग्न सफल भयो ।
आइब्रक्स स्टेडियम ग्लास्गोमा बिहीबार राति भएको खेलमा घरेलु टोलीको जितमा जेम्स टाभेनिएर, ग्लेन कामरा र जोन लन्डस्ट्रोमले गोल गरे । लाइप्जिगका क्रिस्टोफोर एनकुुकुले एक गोल फर्काए ।
खेलको १९औं मिनेटमा जेम्स टाभेनिएरले गोल गर्दै रेन्जर्सलाई सुरुवाती अग्रता दिलाउँदै लेगलाई समग्रमा १–१ गोलको बराबरीमा ल्याए ।
२४औं मिनेटमा ग्लेन कामराले गोल गर्दै रेन्जर्सको अग्रता दोब्बर पार्दा खेलमा समग्रमा पनि अग्रता लिन सफल भयो । ७१औं मिनेटमा क्रिस्टोफोर एनकुुकुले गोल गर्दै लाइप्जिगलाई खेलमा फर्काउने संकेत दिए । तर, ८१औं मिनेटमा जोन लन्डस्ट्रोमले गोल गर्दै रेन्जर्सको जित पक्का गरे ।
अर्काे खेलमा फ्रान्कफुर्टले इंग्लिस क्लब वेस्ट ह्याम युनाइटेडलाई १–० ले तथा समग्रमा ३–१ ले पराजित गर्दै फाइनलमा पुग्न सफल भएको छ ।
दोस्रो लेगमा १० खेलाडीमा समेटिएको वेस्टह्यामविरुद्ध फ्रान्कफुर्टको जितमा पहिलो हाफमा राफयल सान्तोस बोरेले गरेको गोल नै निर्णायक बन्यो । उनले २६औं मिनेटमा अन्सगर नफको पासमा गोल गरेका थिए ।
त्यसअघि १७औं मिनेटमा वेस्ट ह्याम १० खेलाडीमा समेटिन पुग्दा समस्यामा परेको थियो । आरोन क्रेसवेल सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए। ७८औं मिनेटमा प्रशिक्षक डेभिड मोएस पनि रातो कार्ड खाँदै टचलाइन छोड्नुपर्दा टोली झनै समस्यामा पर्दा वेस्ट ह्यामले नतिजा उल्ट्याउन असमर्थ रह्यो ।
अब रेन्जर्स र फ्रान्कफुर्टले उपाधिका लागि स्पेनमा १८ मेको राति प्रतिस्पर्धा गर्नेछ ।हाम्रो खेलकुदबाट ।



