
आगमी वैशाख ३० गते हुन गई रहेको स्थानीय तहको निर्वाचनमा गठबन्धनका तर्फबाट मेचीनगरपालिमा मेयर र उप मेयर पदका उम्मेदवार ईन्द्रबहादुर बुढाथोकी र प्रकाश भण्डारीसँग संयुक्त रुपमा चौतारी पोष्ट अनलाइन पत्रिकाकालागि सम्पादक जी एन शर्माले गरेको निर्वाचन संवाद प्रस्तुत गरेका छौं ।
प्रश्नः सबैले निर्वाचनका बेला मतदातालाई आश्वासन र सपना बाड्ने गर्छन, गठबन्धनले कस्ता आवश्वासन र सपना मतदातालाई बाड्दै आएको छ ?
बुढाथोकीः तपाईको प्रश्न आफैमा एउटा तितो सत्य पनि हो । यस भन्दा अघिका निर्वाचन र अक्सर निर्वाचनमा आवश्वासन र सपना कै खेती गर्ने गरिएको देखिन्छ । चुनावका वेलामा आकास र पाताल जोड्छौं भन्नेहरु चुनाव पछि जनताले गरेको नमस्कारसम्म फर्काउँदैनन तर हाम्रो गठबन्धन अहिले जनता माझ आश्वासन र सपना होईन विश्वास, संकल्प र प्रतिवद्धता लिएर आफुहरुलाई जन सेवा गर्ने अवसर दिनु होस भनेर गएका छौं म यहाँको संचार माध्यम मार्फत यो संकल्प गर्छु कि गठबन्धनले आजका दिन मतदाताहरुसँग जे जे प्रतिवद्धता मौखिक वा लिखित रुपमा गरेको छ, भोलीका दिनमा हाम्रो तर्फबाट जनताको विश्वासलाई अझ कसिलो र बलियो बनाउँनेछौं ।
भण्डारीः जनतालाई ढाटेर, भ्रममा पारेर अनि आश्वासन र सपना बाडेर मत बटुल्नु भनेको मलाई लाग्छ यो जनअपराध हो । हामी हाम्रा मतदाताले दिनु भएको एक एक मतको सम्मान गरेर भोलीका दिनमा आफ्नो मत साच्चै सदुपयोग भएछ र जसलाई मतदान गरियो त्यो भने जस्तै ठाउँमा भएछ भनेर जनताका आशा, अपेक्षा र आवश्कतालाई हामी पुरा गरेर छाड्नेछौँ ।
प्रश्नः सबैले यसै भन्छन् पत्याउने कसरी ?
बुढाथोकीः हाम्रो बोली, हाम्रो व्यवहार, हाम्रो जिवन र हाम्रो विचार नै विश्वासको एउटा आधारको रुपमा मान्न सकिन्छ । यस कारण पत्याउनु होस् भनेर म कसरी प्रमाणित गर्न सक्छु र यसको एउटै बलियो आधार र प्रमाण भोलीका दिनमा हामीले गर्ने काम र हाम्रो व्यवहारले नै यसको पुष्टी गर्ने छ । र, म मेरो अन्तरमनबाटै यो विश्वास दिलाउनु चाहान्छु कि आज हामीले मतदातालाई जे जे भनेर मत मागेका छौं भोलीका दिनमा ति कुनै पनि कुरा पुरा गर्न नसकेको खण्डमा हामी झुठ हौं भन्ने कुरा आफै प्रमाणित हुन्छ । तर हामी प्रतिको जन भरोसा र जन विश्वासलाई अलि कति पनि कमजोर हुन दिने छैनौं र हामी काम गरेर जे हिजोका दिनमा बोलेका थियौं त्यो पुरा गर्ने मान्छे रहेछन् भनेर जनताले लिएको परिक्षामा सफल भएर देखाउनेछौँ ।
भण्डारीः आदरणीय दाई ईन्द्र बुढाथोकीले भन्नु भए जस्तै आज हामीले गठबन्धनको तर्फबाट जनताका घर दैलोमा पुगेर उहाँहरुका आँगनमा उभिएर गरेका बाचा र प्रतिवद्धतालाई पुरा गरेर हामी साच्चै जनताका असल जनप्रतिनिधि बनेर जनविश्वासलाई अझ प्रगाढ बनाउँदै काम गरेर हामी ठिक रहेछौं भन्ने प्रमाणित गर्न हामी सफल हुने छौँ र आँतुर पनि छौँ ।
प्रश्नः सिङ्गो मेचीनगरलाई हसिलो मेचीनगर बनाउन तपाईहरुका प्रारम्भिक सोच के छन् ?
बुढाथोकीः अत्यन्तै महत्वपूर्ण प्रश्न गरिदिनु भएकोमा धन्यवाद । यो संक्षिप्त अन्तरवार्तामा सबै कुरा भन्न नसकिने भए पनि मेचीनगरका प्रत्येक गाउँ, वस्ती बजार र टोलहरुलाई त्यहाँको आवश्यकता अनुसारका विकासका विषयहरुको सुक्ष्म अध्ययन गरेर जनताको आवश्यकता अनुसारका योजनाहरु कार्यन्वयन गर्ने सोच छ । मेचीनगरमा बसोवास गर्नु हुने आम नागरिकले म मेचीनगरवासी हुँ भनेर गर्व गर्न लायक काम गर्ने छौँं । जति काम गर्छौँ जनताका आवश्यकता अनि जनता कै सल्लाहमा गर्नेछौं ।
भण्डारीः उत्पादनमा मेचीनगर, पर्यटनमा मेचीनगर, शिक्षामा मेचीनगर, स्वास्थ्यमा मेचीनगर, कला साहित्य र खेलकुदमा मेचीनगर, किसान र मजदुरमा मेचीनगर वातावरणमा मेचीनगर अर्थात सम्मुन्नत एउटा समाज निर्माणका लागि चाहिने जति पनि विषय र पक्षहरु छन्, ति सबैको संयोजन भएको सबैले दिल खोलेर भन्ने मेरो मेचीनगर अनि म मेचीनगरवासी हुँ भन्न गर्व गर्ने काम गर्ने सोच छ । र, प्रत्येक विकास निर्माणका काम जनताको आवश्यकता र जनताको सुझावमा गरिनु पर्छ भन्ने मान्यताका साथ हामी अगाडी बड्नेछौं ।
प्रश्नः आम मतदातालाई तपाईहरु के भन्नु हुन्छ ?
बुढाथोकीः हामी निर्वाचन प्रचार प्रसारको अन्त्य तिर आएका छौं । निर्वाचन अभियानको क्रममा सबैका घर आँगनमा पुग्ने प्रयत्न गर्दा गर्दै पनि विविध कारणले पुग्न नसिकएको भए हामी क्षमा चाहान्छौं । र, यसै संचार माध्यम मार्फत हामी हाम्रा सम्पूर्ण मतदाताहरुलाई हामीलाई विश्वास गरेर जनसेवा गर्ने अवसर दिन हुनका लागि अपिल गर्दछौं । आज हामी गठबन्धनका तर्फबाट राजनितिक रुपमा उम्मेदवार बनेका भए पनि भोलीका दिनमा हामी आम नगरवासीका जनप्रतिनिधिका रुपमा सबै प्रति उच्च सम्मान जनाउँदै सबै प्रति समान व्यवहार गर्नेछौं । आज हामी स्थानीय तहको निर्वाचनमा मतदाता समक्ष गएर मत मागि रहदा यो सँग सँगै लोकतन्त्रको रक्षाको खातिर देशको आवश्यकता अनुसार गठबन्धन बन्न पुगेको कुरा पनि हार्दिकताका साथ आम जनसमुदायमा अपिल गर्दछौँ ।
भण्डारीः म यति मात्र भन्न चाहान्छु एकतर्फ हामी स्थानीय तहको निर्वाचनमा जनप्रतिनिधिको छनौट गर्ने प्रकृयामा छौँ भने ईन्द्र दाईले भन्नु भए जस्तै अहिले हामी प्रतिगमन र अग्रगमनको मोर्चामा पनि उभिएका छौं । लोकतन्त्र र जन अधिकारको रक्षाका खातिर अग्रगमनको अग्रपंक्तीमा अहिले गठबन्धन उभिएको छ । र, यो निर्वाचन भनेको जनताले आफ्नो भाग्य र भविश्यको फैसला आफै गर्ने पनि भएकाले वैशाख ३० गते जनताले आफ्नो मत विवेकपूर्ण ढङ्गले गर्नु हुने विश्वास गर्दछु ।(नेहाल दर्जीको सहयोगमा)



