मूल खबर

गरिबी बुझेका इन्द्र बुढाथोकी

मेचीनगर । काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले केही दिन अघि चुनावी प्रतिस्पर्धामा स्वस्थ संस्कृतिका लागि सात प्रस्ताव शीर्षकमा एउटा संहिता सार्वजनिक गरे ।

प्रस्तावको छैठौँ बुँदामा लेखिएको छ- ‘अपारदर्शी फजुल खर्च होइन, पारदर्शी र मितव्ययी ढंगले खर्च गरौँ । पैसा नहुनेले चुनाव लड्न नसक्ने बन्दै गएको छवि र पारिवारिक जीवनको पारदर्शिता दलले राखौँ र जनताले खोजौँ ।’

यो बुँदाको ‘पैसा नहुनेले चुनाव लड्न नसक्ने’ वाक्यांशलाई उनले कोड नै गरेका छन् । अर्थात् सात बुँदा मध्येको यो वाक्यांशमा उनको बढी नै जोड देखिन्छ। ठ्याक्कै परिस्थिति पनि त्यस्तै बनेको छ । पैसा नहुनेले चुनाव नलडे पनि हुन्छ, अहिले । गाडी कुदाउँनै पर्‍यो, प्रचार सामग्री बनाउँनै पर्‍यो । नेता कार्यकर्ता अघिपछि लाउनैपर्‍यो, हुनैपर्‍यो । नत्र यो उपाधि पाइने पक्का छ- निरीह उम्मेद्वार ।

त्यसमा पनि काँग्रेसको उम्मेद्वार भने पछि सबैको दिमागमा स्वाट्टै छिर्छ -बेग्लै तडकभडक र रमझम । हिजो काँग्रेसलाई पुँजीपतिहरुको पार्टी भनेर अपव्याख्या गरियो । अहिले काँग्रेसले भोग्दै गरेको नियति त्यसकै परिणाम हो । यतिबेला टुमटुमले दैनिकी चलेका र आफ्नो नाममा धनीपूर्जा समेत नभएका धेरै व्यक्ति पुँजीपतिहरुको पार्टी काँग्रेसबाट स्थानीय तहको चुनावमा उम्मेद्वार छन् । ती मध्येका एक हुन्- मेचीनगर नगरपालिका प्रमुखका काँग्रेस उम्मेद्वार इन्द्रबहादुर बुढाथोकी । काँग्रेस महामन्त्री शर्माको गृहनगर पनि हो ।

झापा १ का काँग्रेस क्षेत्रीय सभापति समेत रहेका बुढाथोकीको घर सामान्य छ । उनी बसेको जमीनको धनीपूर्जा उनको हातमा छैन । ‘म सामान्य किसानको छोरो हुँ, धनीपूर्जा मेरो हातमा नहुँदा मलाई हिनताबोध छैन,’ उनले भने, ‘म जस्तै मानिस हज्जारौँ छौँ मेरो मात्र भएर केही हुँदैन, उहाँहरुलाई पनि जग्गाको मालिक बनाउने मेरो लक्ष्य हो ।’ रात बस्दै पाँच, छजना साथीभाइ आए भने सुताउन हम्मेहम्मे पर्छ । उनले साथीभाइ नै गुहार्नु पर्छ । महामन्त्री शर्माले भनेझैँ पैसा नहुनेले चुनाव लड्न नसक्ने नै अवस्था छ, उनको ।

तर, बुढाथोकी पैसा हुनेहरूकै बीचबाट टिकट पाएका उम्मेद्वार हुन् । जसको तारिफ गर्न लायक इमान छ । हत्तपत्त कोहीसँग नरिसाउने खनखन सम्पत्ति बुढाथोकीसँग छ । उनले प्रतिस्पर्धा गरेका हरेक चुनावमा उनलाई त्यसैले अब्बल सावित गरिदिएको छ । प्रतिस्पर्धामा उत्रेका कुनै पनि चुनावमा उनले उपविजेता हुनु परेको छैन । त्यसको एउटै कारण उनका पक्षमा आउने अमूल्य मतको भारीपल्ला नै हो । ५३ वर्षको हुँदासम्म इन्द्र कहिल्यै कुनै लाभको पदमा पुगेकै छैनन् । तर, उनी सधैँ ‘सहकाल’ झैँ दर्ज छन् ।

‘पैसा अभावमा खास छटपटिनु परेको छैन, आवश्यकता अनुसार जुट्छ,’ इन्द्रले भने, ‘मेरो सम्पत्ति नै साथीभाइको पवित्र मन हो ।’ त्यही पवित्र मनदेखि प्राप्त हुने मतले मेचीनगर प्रमुखमा विजयी हुनेमा उनी दृढ छन् । ‘सबैले शुभकामना दिइरहनु भएको छ, म शिरमा शुभकामना राखेर अमूल्य मत मागिरहेको छु,’ इन्द्रले सुनाए ।

सामान्य किसान परिवारमा जन्मेका उनी शालीन र भद्र छन् । फजुल खर्चबाट टाढै बस्न रुचाउने उनी साथीभाइ भनेपछि मरिहत्ते गर्छन् । सकेसम्म उनले कसैलाई दुखाउनु छैन । पाएको जिम्मेवार वफादारीपूर्वक पूरा गर्ने इन्द्रले व्यवस्थापक भएको बेला धुलाबारी खानेपानीको अध्यक्ष बन्ने सोच बनाए ।

चुनाव भयो, चुनाव लडे, जिते र अध्यक्ष बने । धुलाबारी खानेपानीलाई साँच्चै धुलाबारी खानेपानी बनाउनका लागि उनको योगदान स्मरण लायक रहेको उपभोक्ताहरु मुक्तकण्ठले सुनाउँछन् । खानेपानी उनले मात्र बनाएनन्, सबैको साथ सहयोगले बन्यो ।

इन्द्रलाई साँच्चै इन्द्र चाहिँ खानेपानीले नै बनायो । एकपटक मात्रै होइन, दोहोर्‍याएर उनी धुलाबारी खानेपानीको अध्यक्ष बने । दुबैपटक उनी प्रतिस्पर्धाबाट अध्यक्ष बनेका हुन् । उनी साढे सात लाख ऋण हुँदा खानेपानीको अध्यक्ष बनेका थिए ।

बुढाथोकीले १ करोड नगद, १० कठ्ठा जग्गा र फोहोर व्यवस्थापनका लागि ट्याक्टर जोडेर नयाँ अध्यक्षलाई पद हस्तान्तरण गरेको धुलाबारी खानेपानीका उपभोक्ता समेत रहेका झापा काँग्रेसका निवर्तमान उपसभापति राम कट्टेलले सुनाए ।

सहकारीबाट सामाजिक काम र राजनीतिमा प्रवेश गरेका इन्द्रसँग धुलाबारी क्याम्पको नेविसंघ सभापति, क्षेत्रीय सभापति, जिल्ला सदस्य, पार्टीको मेचीनगर सभापतिको जिम्मेवारी सम्हालेको अनुभव छ ।

अहिले उनी काँग्रेस महामन्त्री शर्माको चुनावी क्षेत्र झापा १ को क्षेत्रीय सभापति छन् । उनी पद प्राप्तिमा जति अब्बल छन्, साथीलाई सहजतापूर्वक दिन पनि त्यत्तिकै तयार हुन्छन् । नेविसंघ झापाको सभापति दाबी गरेका उनले पर्शुराम रिजाललाई सर्वसम्मत सभापति बनाएर उदारता नै प्रस्तुत गरेका थिए ।

त्यसबेला बुढाथोकी नेविसंघ सभापति बन्ने कन्फम नै थियो । उनका सहपाठी शर्मा नेविसंघको हर्ताकर्ता थिए । साथीलाई सभापति बनाउन शर्माले सक्थे तर शर्माकै आग्रहमा बुढाथोकीले रिजाललाई सर्वसम्मत सभापति बनाउन मार्ग प्रसस्त गरिदिएका थिए ।

काँग्रेस महामन्त्री शर्मा र बुढाथोकी स्कुले जीवनका साथी पनि हुन् । असाध्यै मिल्ने र धुलाबारी माविको एउटै बेञ्चमा बसेर पढेका साथी हुन्- शर्मा र बुढाथोकी । बाहिर हल्ला भएझैँ मिल्ने साथी भएर शर्माले उनलाई प्रमुखको टिकट दिलाएका होइनन् ।

‘प्रमुखको उम्मेद्वारमा मेरो नाम सिफारिस थियोे, तर म पाउनै पर्छ भन्ने लविङमा थिइनँ,’ बुढाथोकीले भने, ‘टिकट आयो, यसमा म खुसी छु, पार्टीप्रति आभारी छु, चुनाव जितेर पार्टीले जनताको सेवा गर्न दिएको जिम्मेवारी पूरा गर्न दृढतापूर्वक लागेको छु ।’

टिकटका अर्का दावेदार केशवराज पाण्डे र आफ्नो बीचमा प्रगाढ सम्बन्ध रहेको बुढाथोकीले सुनाए । ‘उहाँ फराकिलो र उदार आत्मा भएको मानिस हो,’ बुढाथोकीले भने, ‘उहाँ मेरो पार्टीको नेता पनि हो, पार्टीलाई जिताउन अहोरात्र खटिरहनु भएको छ, उहाँकै बलमा चुनाव जितिन्छ ।’ झापा काँग्रेस उपसभापति पाण्डे पार्टीका उम्मेद्वारका पक्षमा दह्रोसँग उभिएका छन् ।

पहिला काँग्रेस एक्लै चुनाव लड्दा मेचीनगरमा विमल आचार्यले १६ सय बढी मतले चुनाव जितेका हुन् । बुढाथोकीकै भाषामा यो उनको चुनाव जित्ने पहिलो आधार हो ।

यसपटक त्यो भन्दा दह्रो आधार पनि छ । मेचीनगरमा काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी बीच चुनावी तालमेल छ । नेकपा एमाले विभाजन पछि गठन भएको नेकपा एकीकृत समाजवादीको मेचीनगरमा प्रमुखमा उम्मेद्वार छैन । सत्ता गठबन्धन भएकाले नेकपा एसको मत आफूलाई आउनेमा उनी सतप्रतिसत ढुक्क छन् ।

चुनावी तालमेल गर्दा नेकपा माओवादी केन्द्रका प्रकाश भण्डारीलाई उपप्रमुखमा अघि बढाइएको छ । जसपासँग दर्बिलो चुनावी तालमेल छ । यी उनका चुनाव जित्ने आधार हुन् । ‘मेचीनगरमा मलाई सत्ता गठबन्धनको नेतृत्व गर्ने अवसर प्राप्त भएको छ, चुनाव जितेर त्यो यथार्थमा परिणत गर्ने हाम्रो साझा प्रयास हो,’ बुढाथोकीले भने ।

झट्ट हेर्दा सामान्य लाग्ने बुढाथोकीको जीवन कष्टपूणर् र जोखिमलाई छिचोल्दै अघि बढेको छ । उनी तीनपटक दुर्घटनामा परेर बाँचेका व्यक्ति हुन् । दुईवटा ठूला र एउटा सानो दुर्घटनाको चोट खपेका बुढाथोकी दुई महिनाभन्दा बढी नै अस्पताल बसेका छन् । देब्रे हात र दाहिने खुट्टामा स्टील हालेका उनले जीवनलाई नजिकबाट नियालेका छन् ।

‘जीवन जतिबेला पनि समाप्त भएर जाने रहेछ, म तीन पटक दुर्घटनामा परेर बाँचेको मान्छे हुँ, शरीरका अंगअंगको महत्व बुझेको छु,’ उनले भने, ‘जे गर जीवन हुँदै गर, पर्खेर नबस भन्ने कुरा राम्ररी बुझेको छु । त्यसैले मेयर बनेर जनताको सेवक बन्न अघि बढेको हुँ ।’

जीवनमा समाजसेवा बाहेक अर्को कुनै सोच नभएको बताएका बुढाथोकीले मनसँगै मत दिन आग्रह गर्दै भने, ‘बिनासर्त र इमान्दारीपूर्वक तपाईंहरु मलाई मत दिनुस्, बदलामा सुशासनसहितको सुसंस्कृत र भ्रष्टाचारमुक्त समाज बनाउनेछु ।’प्रदेश टाइम्स अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button