मूल खबर

झापाको मेचीनगरमा मतदानको तयारी पुरा,फलामे तारजाली भित्र मतगणना गरिने

मेचीनगर । बैशाख ३० अर्थात भोली हुने स्थानीय तहको मतदानका लागि झापाको मेचीनगर नगरपालिकामा सबै तयारी पुरा भएको मेचीनगरका निर्वाचन अधिकृत वेदराज फुयलले बताए । उनका अनुसार मेचीनगरमा ३५ मतदान स्थलका १०२ मतदान केन्द्रमा भोलि विहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदान हुने अधिकृत फूयलले बताए ।

नगरमा ७७ निर्वाचित हुने पदका लागि ३२० जना उम्मेद्वार चुनावी मैदानमा छन । त्यस मध्ये मेचीनगर ११ की दलित महिला सदस्य निर्विरोध निर्वाचित भइसकेकीछन् । बाँकी ३१९ उम्मेद्वारबाट ७६ जना निर्वाचित हुनेछन ।

मतदानका लागि मेचीनगरमा १०२ मतदान अधिकृत सहित ८१६ जना निर्वाचन कर्मचारी खटिएका छन भने सुरक्षाकर्मी र पर्यवेक्षक समेत परिचालन गरिएको निर्वाचन अधिकृत फुयलले जानकारीदिएकाछन ।

मेचीनगरमा ४५११२ पूरुष र ४५०९० महिला गरी कुल ९०२०२ मतदाता रहेका छन । नगरको वडा नं। ६ मा सबैभन्दा बढी ११५२५ जना मतदाता रहेका छन भने सबैभन्दा कम वडा नं। ११ मा ३९९३ जना मतदाता रहेका छन ।

फलामे तार जाली भित्र मतगणना गरिने
मेचीनगरका सहायक निर्वाचन अधिकृत रेवन्त भट्टराईका अनुसार मतगणनाको समेत तयारी पुरा भइसकेको छ ।

मतगणना स्थललाई कडा सुरक्षा घेरामा राखिएको भट्टराईले दिएकाछन । ‘फलामे जारी भित्र मतगणना गर्ने तयारी गरेका छौं,’ सहायक निर्वाचन अधिकृत भट्टराईले भने—, मतगणना ‘स्थलमा सिसि क्यामेरा जडान गरिएको छ ।’ उनका अनुसार मतगणना स्थलको सिसि क्यामेराको फुटेज निर्वाचन आयोगको केन्द्रीय कार्यालय काठमाण्डौबाट सिधै हेर्न सकिने र नगरको निर्वाचन अधिकृतले भिडियो ट्याकिङ्ग गर्न सक्ने छ ।

मतगणनास्थलमा मोबाइल फोन पूण रुपमा निधेष गरिएको छ भने पानीका बोतल समेत लान नपाइने व्यवस्था गरिएको छ । एउटा राजनितिक दलबाट दुई जना गणना प्रतिनिधि एक पटकमा बस्न पाइने व्यवस्था गरिएको छ । तीन ठाउँबाट मतगणना सुरु गरिने र दुइ वटा ठाउँ थप गरी जम्मा पाँच ठाउँमा मतगणना गर्ने तयारी गरिएको भट्टराईले बताए ।

शुक्रबार बेलुका मतदान सम्पन्न भइसके पछि मतपेटिका नगरपालिकाको कार्यालयमा ल्याइने र शनिबार बिहान ८ बजेदेखि मतगणना सुरु गरिने सहायक निर्वाचन अधिकृत भट्टराईले चौतारी पोष्ट अनलाइनलाई बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button