मूल खबर

सकियो प्रतीक्षा, आज मतदान

स्थानीय तह निर्वाचनका लागि तयार गरिएको काठमाडौँ दरबार हाइस्कुल मतदान केन्द्र । तस्बिर : कविन अधिकारी

काठमाडौँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछिको स्थानीय तहको दोस्रो आवधिक निर्वाचन उत्साहजनक रूपमा शुक्रबार हुँदैछ । निर्वाचन हुने कि नहुने भन्ने राजनीतिक मत विभाजनलाई पार लगाउँदै प्रतीक्षित निर्वाचन आज हुन लागेको हो ।

देशभरका ७५२ स्थानीय तहमा बिहान ७ बजेदेखि ५ बजेसम्म हुने मतदानको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार स्थानीय निर्वाचन २०७९ मा ३५ हजार २२१ पदका लागि कुल एक लाख ४५ हजार ११ जना उम्मेदवारले स्पर्धा गर्दैछन् । तीमध्येबाट कुल ३४ हजार ६६० जनप्रतिनिधि मतदानबाट चुनिनेछन् ।

निर्वाचनको क्रममा ३९० जना निर्विरोध निर्वाचित भएका छन् । १७० जना दलित महिला सदस्यका लागि उम्मेदवारी परेको छैन । मनाङको मार्फाभूमि वडा नं. १ मा महिला सदस्यका लागि उम्मेदवारी परेन । एक करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाताको नाम अन्तिम मतदाता नामावलीमा समावेश छ । जसमध्ये ८७ लाख ४१ हजार ५३० महिला र ८९ लाख ८२ हजार दस पुरुष तथा १८३ जना अन्य लिङ्ग समूहका मतदाता छन् ।

एक करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाताको नाम अन्तिम मतदाता नामावलीमा समावेश छ ।
आयोगले वैशाख २९ गतेलाई निर्दिष्ट मिति तय गरेको हुँदा चुनाव घोषणा भएको मितिपछि १८ वर्ष उमेर पूरा भएका करिब २३ हजार मतदाता थपिएका छन्। स्थानीय निर्वाचन २०७४ को अपेक्षा करिब ३६ लाख मतदाता थपिएका छन् । निर्वाचनका लागि दस हजार ७५६ मतदान स्थलमा २१ हजार ९५५ मतदान केन्द्र तोकिएका छन् ।

आयोगले कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा भने जेठ ३ गते मतदान हुने जनाएको छ । दाङको तुलसीपुर नगरपालिकाको वडा नं. १७ मा समेत जेठ ३ गते नै मतदान हुनेछ ।महाराजगञ्ज नगरपालिकाका उपप्रमुख पदका प्रत्याशी शुभावती कुर्मीको र दाङको वडा नं. १७ का वडा अध्यक्ष पदका प्रत्याशी लभरु चौधरीको निधन हुँदा दुवै स्थानमा जेठ ३ गतेका लागि मतदान सारिएको आयोगले जनाएको छ ।

करिब ४० अर्ब खर्च

अर्थ मन्त्रालयका अनुसार स्थानीय निर्वाचन २०७९ का लागि करिब १६ अर्ब रुपियाँ बराबरको स्रोत सुनिश्चितता र निकासा भएको छ । उक्त बजेट निर्वाचन आयोग, गृह मन्त्रालय र रक्षा मन्त्रालयले खर्च गर्नेछन् । निर्वाचन आयोगले करिब आठ अर्ब रुपियाँ खर्च गर्न पाउने गरी स्रोत सुनिश्चित गरी खर्च भएबमोजिम निकासा गरिँदै आएको छ । रक्षा र गृह मन्त्रालयका लागि भने निर्वाचन सुरक्षा प्रयोजनका लागि करिब आठ अर्ब रुपियाँ खर्च हुने अनुमान गरिएको छ ।

निर्वाचन आयोगले तोकेको उम्मेदवारको खर्च सीमा र उम्मेदवारको सङ्ख्यालाई आधार मान्दा स्थानीय निर्वाचन २०७९ मा करिब ४० अर्ब रुपियाँ खर्च हुने अनुमान गरिएको छ ।गोरखापत्र अनलाइनबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button