
यताबाट खबर पठाको थियो, खबरमा भनेको थियो— अब पनि नबोले तिनीहरु कहिले बोल्छन् अरे ?बोल्नु पर्ने बेलामा नबोलेर किन चुप्प लागेका अरे? उताबाट खबर आयो— बोल्छन् अरे तर अहिले र आज होईन भोली बोल्छन् अरे! यताबाट फेरि खबर गयो—अस्ति त यस्तो गर्छम् र उस्तो गर्छम् भनेर खुब ताउरमाउर गर्थे त अनि अहिले चैँ किन भोली बोल्ने? यस्तो बेलाँ पनि नबोलेर कस्तो साईतमा बोल्छन् अरे ?
यताको सोधाई र उताको जवाफ जान्ने मलाई पनि खुल्दुली भयो अनि मैले पनि कुरो केहो भनेर यसो सोधखोजमा लागेँ । कुरो निक्कै चर्को रहेछ, हिजो अस्ति सम्म अधिकारका कुरा गर्नेहरु अहिले तैँ चुप मैँ चुपको लाइनमा बसेका रहेछन् । कुरो अलिक गंभीर भएकाले यताकाले धेरै पल्ट खबर गरेछन् । बोल्नु पर्ने मुन्छीहरु किन बोल्दैनन् भनेर तर उताबाट अलिक कप्टिकप्टि जवाफ आएछ । फेरि खबर आएछ ,अहिले धमाधम कार्जेक्रम बन्दैछ अरे । दुव्र्यव्यहार र यसखालका घटनालाई कसरी रोक्न सकिन्छ भनेर बजेट बन्दैछ अरे बजेट पछि कार्जेक्रम हुन्छ अरे अनि कार्जेक्रममा आसन ग्रहण गरेपछि बोल्ने कुरो आएपछि यताका हैरान भएछन् । हो पनि ठुला मन्छीहरु जहिले तहिले बोल्ने कुरो आएन । भोग्नेले भोग्दै जान्छ, रुने रुँदै गर्छ,कराउने कराउँदै गर्छ यहाँ हुने नै यस्तै हो । सहिसत्ते बोल्ने अलिक कमकमनै हुन्छन् त्यो पनि दायाँबायाँ हेरेर बोल्नु पर्ने दिनकाल आएको छ । विचरा यताकाले बोल्छन् कि भनेर धेरै पर्खेछन् उताका कार्जेक्रम बनाउनै व्यस्त भएछन् । अब कार्जेक्रम बनेपछि बजेट आउला अनि बजेटको खर्चसँगै बोल्नेहरु बोल्छन होला अहिलेलाई सहेर बस्नुको अर्को उपाय के होला र ? अरुबेला अधिकारका कुरा गरेर नथाक्नेहरु अहिले कुन संगीतमा मस्तछन् एक फेर बुझ्ने बेला भए जस्तो छ !



