‘सम्हालिन्छ कहिले मन’को पखाईमा अरु फिल्म नकारेका सोनम


काठमाडौं
आगामी भदौ १७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘सम्हालिन्छ कहिले मन’बाट सोनम तोप्देनले नायकको रुपमा डेब्यू गर्दैछन् । नेपाली र हिन्दी गीतका कभर गाएर चर्चामा आएका उनी भारतीय नागरिक हुन् । फिल्म ‘रामकहानी’का लागि हिरो खोज्ने क्रममा अभिनेत्री पूजा शर्माको नजरमा सोनम परेका थिए । तर, यो फिल्ममा उनी फिट नहुने भएपछि आकाश श्रेष्ठले मौका पाए ।

पछि ‘सम्हालिन्छ कहिले मन’का लागि पनि एक हिरो चाहिने भएपछि पूजाको सिफारिसमा निर्देशक सुदर्शन थापाले सोनमसँग भेट गरेर फिल्म अफर गरेका थिए । सोनम पनि फिल्म खेल्न राजी भए । यो फिल्म निर्माण भएको तीन वर्ष भइसकेको छ । योबीचमा सोनमलाई केही फिल्मबाट प्रस्ताव समेत आए । तर, उनले डेब्यू फिल्म रिलिज अगाडि अरु फिल्म नगर्ने भन्दै अडान कसेर बसे ।

गत शुक्रवार फिल्मको गीत सार्वजनिक कार्यक्रममा उनले आफूलाई केही फिल्मबाट प्रस्ताव आएको भएपनि काम नगरेको बताए । उनले भने- ‘म ‘सम्हालिन्छ कहिले मन’को रेस्पोन्स हेरेर मात्र अगाडि बढ्न चाहन्छु । दर्शकहरुले मेरो काम मन पराइदिनुभयो भने लगातार रुपमा नेपाली फिल्म गर्छु । दर्शकहरुलाई मेरो काम चित्त बुझेन भने म अझ सिकेर, बुझेर र निखारिएर आउनेछु ।’

यो फिल्ममा आफू सुदर्शन थापा र पूजा शर्माका कारण जोडिएको उनको भनाई छ । उनी भन्छन्, ‘फिल्मको बारेमा थाहै नभएको मान्छेलाई फिल्म खेलाउनुभएको छ । आफूले सकेको मेहेनत गरेको छु ।’ ‘सम्हालिन्छ कहिले मन’को गीत सार्वजनिक भएसँगै सोनमको लुक्सको चर्चा भइरहेको छ । डेब्यू फिल्म रिलिजभन्दा अगावै उनलाई सम्भावना बोकेको नायकको रुपमा हेरिएको छ ।फिल्मीखबर

50% LikesVS
50% Dislikes