
काठमाडौं
अमेरिकी डलरको विनिमय दर निरन्तर बढिरहँदा नेपालले तिर्नुपर्ने बाह्य ऋणमा १९ अर्ब ३७ करोड रुपियाँको दायित्व थपिएको छ । नेपालले बाह्य ऋणबापतको साँवा ब्याज डलरमै भुक्तानी गर्नुपर्ने भएकाले डलरको भाउ बढ्दा त्यसको असर ऋण भुक्तानीमा देखिएको हो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक (माघ–चैत)मा मात्रै नेपालले भुक्तानी गर्नुपर्ने ऋणको भार १९ अर्ब ३७ करोड रुपियाँले बढ्ने भएको हो । सो कार्यालयका अनुसार माघदेखि चैतसम्मको अवधिमा मात्र नेपालले एक अर्ब २२ करोड १८ लाख डलर बाह्य ऋण लिएको छ।
कार्यालयका अनुसार पुस मसान्तमा नेपालले १२ अर्ब २१ करोड रुपियाँ बाह्य ऋण लिएकामा १९ अर्ब ३७ करोड रुपियाँको विनिमय घाटासमेत बेहोरेर ३१ अर्ब ५८ करोड रुपियाँ पुगेको छ । त्यसमा नेपालले चार अर्ब १२ करोड रुपियाँ ऋण भुक्तानी गरेकाले समीक्षा अवधिको खुद ऋण २७ अर्ब ४६ करोड रुपियाँ पुगेको कार्यालयको तथ्याङ्कले देखाउँछ ।गोरखापत्र दैनिकमा छ ।



