नेम्वाङको अध्यक्षतामा एन्फाका नयाँ नेतृत्व


काठमाडौं (हाम्रो खेलकुद) – पंकज विक्रम नेम्वाङ अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा निर्वाचित भएका छन् । बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सोमबार भएको एन्फाको २१औं केन्द्रिय कार्यसमितिको साधरणसभाबाट निवर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै नेम्वाङ आगामी चार वर्षको कार्यकालका निर्वाचित भएका हुन् ।

नेम्वाङले ४५ मत प्राप्त गर्दा उनका प्रतिद्वन्दी शेर्पाले ३९ मत पाए । कुल ८४ मत खस्दा स्वतन्त्र उमेदवार राजीव राज पौड्यालले एक मत पनि प्राप्त गरेनन् । अध्यक्षमा निर्वाचित भएसँगै अध्यक्ष नेम्वाङले तत्कालको लागि एन्फा र जिल्ला, एन्फा र खेलाडी तथा फिफा र एएफसी सम्बन्ध अझै सुमधुर बनाउँदै लैजाने बताए ।

नव निर्वाचित अध्यक्ष नेम्वाङले खेलाडी र प्रशिक्षकको विवाद पहिलो बैठकबाट निर्णय गर्ने थपे । ‘छानविन समितिको प्रतिवेदनको बृहत रुपमा छलफल गछौं । सबै पक्षसँग बसेर समस्याको समाधान गर्नेछौं,’ अध्यक्ष नेम्वाङले भने ।

‘फिफाबाट प्रारम्भिक आर्थिक प्रतिबन्ध जस्तै अवस्था छ । सोही कारण साधरण सभामा अडिड रिपोर्ट पेश गर्न सकेनौं । यो दायित्व पुरा गर्नेछौं । आफ्नो कार्यकालमा साफ जित्ने लक्ष्य राखेका छौं । यसबाहेक ग्रासरुट, युथ, महिला, लिगलाई व्यवस्थित गर्ने र राष्ट्रिय लिग सुरु गर्नेछौं ।’

यस्तै अध्यक्ष नेम्वाङले एनएसएलको विषयमा केही बुँदाहरुमा छलफल गरि समाधान गर्ने, उनीहरु पराजित नभएको र उहाँहरुको सकरात्मक सुझावको सदैव अपेक्षा गरिरहेको थपे ।

चार वर्षअघि शेर्पा अध्यक्षमा चुनिँदा उनकै प्यानलबाट नेम्वाङ सर्वाधिक मतसहित उपाध्यक्षमा निर्वाचित भएका थिए । पछि कार्यसमितिले नेम्वाङलाई वरिष्ठ उपाध्यक्षको जिम्मेवारी दिएको थियो । लामो समयसम्म चेन्ज एन्फाको नारासहित एन्फाको तत्कालिन संस्थापनविरुद्ध आन्दोलित हुँदा शेर्पा र नेम्वाङ सँगै थिए ।

लामो समय सहकार्य गरे पनि नेतृत्वमा पुगेपछि यी दुईबीचको सम्बन्ध चिसिन पुगेको थियो । एन्फा नेतृत्वमा पुगेको झण्डै डेढ वर्षपछि सुरु भएको दुईबीचको मनमुटाव हुँदा एक–अर्काविरुद्ध प्यानल नै उत्रिनु पर्ने अवस्था सिर्जना गरेको थियो । शुद्धीकरण अभियानताका उठाएका सुशासन, आर्थिक पारदर्शिता र विकेन्द्रीकरणको मुद्धामा कर्माले ठोस कार्य गर्न सकेनन् ।

पछिल्लो पटक मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीसँग खेलाडीको विवादले पनि नेम्वाङलाई चुनाव जित्न थप सहज भयो । झापाको धुलाबारीका स्थायी वासिन्दा नेम्वाङ सानैदेखि स्थानीयस्तरमा फुटबल खेल्थे ।

तर खेलाडीका रुपमा अघि बढ्न नसक्ने देखेपछि विस्तारै रोलिङ क्लब हुँदै झापा जिल्ला फुटबल संघमा छिरेका उनी २०५९ सालमा एन्फाको केन्द्रिय सदस्य भएका थिए । त्यसयता लगातार चार कार्यकाल सदस्य भएर काम गरेका नेम्वाङ चार वर्षअघि उपाध्यक्षमा निर्वाचित भएका थिए ।

वरिष्ठ उपाध्यक्षमा खड्का

अखिल नेपाल फुटबल संघ (एन्फा) को वरिष्ठ उपाध्यक्षमा पंकज प्यानलकै बिर बहादुर खड्का निर्वाचित भएका छन् । उनले निकटतम् प्रतिद्धन्द्धी शिक्षित पराजुलीलाई ४ मतले पराजित गर्दै आगामी चार वर्षको कार्यकालका निर्वाचित भएका हुन् ।

बिर बहादुरले ४४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्द्धी पराजुलीले ४० मत पाए । यस्तै उपाध्यक्षमा पंकज प्यानलका दावा लामा, विराट जंग शाही, दीपक खतिवडा र कर्मा प्यानलबाट दीर्घ बहादुर केसी (कुमार) निर्वाचित भएका छन् ।

दावाले सर्वाधिक ४८ मत ल्याए । विराट र दीपकले समान ४७ मत ल्याए । कर्मा प्यानलका दीर्घले पंकज प्यानलका सुन्दर नरसिंह जोशीलाई १ मतले पछि पार्दै उपाध्यक्षमा निर्वाचित भए । दीर्घले ४२ तथा सुन्दरले ४१ मत पाए । उपेन्द्रमान सिंह र विज्ञान राज शर्माले समान ३७ मत तथा रत्न कुमार श्रेष्ठले ३६ मत पाए । महिला सदस्यमा पंकज प्यानलकी सरिला श्रेष्ठ र कर्मा प्यानलकी पेमा डोल्मा लामा निर्वाचित भएका छन् । सरिलाले ४६ तथा पेमाले ४३ मत पाइन् । कर्मा प्यानलबाट उमेदवार रहेकी विना श्रेठले ४० तथा पंकज प्यानलकी विन्द्रा देवानले ३९ मत पाइन् । दुई महिला सदस्यका लागि चार जना चुनावी मैदानमा रहेका थिए ।

११ सदस्य निर्वाचित, दुई जनाको लागि पुनः निर्वाचन हुने

अखिल नेपाल फुटबल संघ (एन्फा) को २१औं केन्द्रिय कार्यसमितिको साधरणसभाबाट १३ सदस्यमध्ये ११ जना निर्वाचित हुँदा थप दुई जनाको लागि पुनः निर्वाचन हुने भएको छ ।

खुल्ला १३ सदस्यमध्ये ११ जना निर्वाचित हुँदा चार जना उमेदवारको समान ३९ मत आएपछि गोलाप्रथा गरिने भनिएपनि विशेष साधरण सभाबाट चार जनाबीच निर्वाचन गराई दुई सदस्य छानिने एन्फाले जनाएको छ ।

एन्फाको विधान, फिफा र एएफसीको नियमहरु सबै विचार गरेर फिफा र एएफसीकै प्रतिनिधिहरुको राय र सुझावमा एन्फाले निर्वाचनको मिति तोक्ने र निर्वाचन समितिले ११ सदस्यस जनालाई निर्वाचित घोषणा गरेका छन् । दीपक थापा क्षेत्री, दिपेन्द्र धिमाल, रुपेश अधिकारी र लोकेन्द्र गुरुङले समान ३९ मत पाएका छन् । यि मध्ये दीपक, रुपेश र लोकेन्द्र कर्मा प्यानलका उमेदवार हुन् ।

मनिष जोशी ४८, अनिल मल्ल ४७, रविन्द्र चन्द ४६, विकास नारायण श्रेष्ठ ४४, भोजराज शाही ४४, महेन्द्र क्षेत्री ४४, पुरुषोत्तम थापा ४३, रमेश व्यन्जनकार ४३, मनिराज विष्ट ४२, टिकाराम लामा ४१ र भरत बुढ् थापा ४० मत पाएर निर्वाचित भएका छन् ।

निर्वाचित हुनेमध्ये मनिष जोशी, रमेश व्यन्जनकार, मणि राज विष्ट, टिका राम लामा र भरत बुढ्थापा कर्मा प्यानलका तथा अनिल मल्ल, रविन्द्र चन्द, विकास नारायण श्रेष्ठ, भोजराज शाही, महेन्द्र क्षेत्री र पुरुषोत्तम थापा पंकज प्यानलका हुन् ।

राम राज गुरुङ ३८, अनिल श्रेष्ठ ३७, नेपाल कार्की ३६, प्रदेश सिंह राठौंर ३६, विनोद लामा तामाङ ३६, तपेश्वर कुमार राउत कुर्मी ३४, विजय घले ३४, निरोज खड्गी ३३, प्रविण कुमार यादव ३२, प्रविन कुमार सिलवाल ३२, मुखिया लामा ३२, मिलन गुरुङ १८, सुरेन्द्र शिख्रकार १२, सुन्दर थापा क्षेत्री ९, कुमार कटवाल ५ मत पाए । ढिला गरी उमेदवार फिर्ता लिएका कृष्ण मुरारी गुरुङ र मानदेव हजाराले मत पाएनन् । १३ सदस्यका लागि ३६ जनाको उमेदवारी परेको थियो ।

२१ सदस्यीय कमिटिका लागि अध्यक्षमा ३, वरिष्ठ उपाध्यक्षमा २, उपाध्यक्षमा ४, महिला सदस्यमा ५ र सदस्यमा ३६ जना गरी कुल ५० जनाको उमेदवारी परेको थियो । यसपटकको एन्फा निर्वाचनमा ८४ जनाले मताधिकार पाएका थिए । निर्वाचनमा ४५ जिल्लामध्येबाट ४२ जिल्ला, १४ ‘ए’ डिभिजन क्लब, ११ ‘बी’ डिभिजन क्लब र ९ ‘सी’ डिभिजन क्लब, मोफसलका ४ क्लबसँगै एन्फाअन्तर्गतको महिला संघ, खेलाडी संघ, प्रशिक्षक संघ र रेफ्री संघले मताधिकार पाएको थियो ।

एन्फाको नव निर्वाचित कमिटी

अध्यक्ष – पंकज विक्रम नेम्वाङ

वरिष्ठ उपाध्यक्ष – विर बहादुर खड्का

उपाध्यक्ष – दावा लामा, विराट जंग शाही, दीपक खतिवडा र दीर्घ बहादुर केसी (कुमार)

महिला सदस्य – सरिला श्रेष्ठ र पेमा डोल्मा लामा

सदस्य – मनिष जोशी, अनिल मल्ल, रविन्द्र चन्द, विकास नारायण श्रेष्ठ, भोजराज शाही, महेन्द्र क्षेत्री, पुरुषोत्तम थापा, रमेश व्यन्जनकार, मनिराज विष्ट, टिकाराम लामा र भरत बुढ् थापा

 

50% LikesVS
50% Dislikes