अष्ट्रेलियामाथि रोमान्चक जितसँगै श्रीलंकालाई तीन दशकपछि उपाधि


एजेन्सी – श्रीलंकाले चौथो ओडिआई खेलमा अष्ट्रेलियालाई चार रनले पराजित गर्दै एक खेल अगावै सिरिज ३–१ ले जितेको छ । योसँगै श्रीलंकाले सन् १९९२ पछि पहिलो पटक अष्ट्रेलियासँग घरेलु मैदानमा द्विपक्षीय ओडिआई सिरिज उपाधि जित्न सफल भएको छ ।

जितको लागि २ सय ५९ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिया ५० ओभरमा २ सय ५४ रनमा अल आउट भयो । अष्ट्रेलियाका ओपनर डेविड वार्नर १ सय १२ बलमा १२ चौकासहित ९९ रनमा आउट भए । अष्ट्रेलियालाई जितको लागि अन्तिम ६ बलमा १९ रन चाहिँएको थियो ।

म्याथ्यु कुहनेमानले कप्तान दसुन शनकालाई दोस्रो, चौथो र पाँचौं बलमा चौका प्रहार गरेपछि खेल थप रोचक बनेको थियो । अन्तिम बलमा जितको लागि पाँच रन चाहिँएको अवस्थामा एज लागेर कुहनेमान चरिथ असलंकाबाट क्याच भएसँगै श्रीलंकाले तीन दशकपछि घरेलु मैदानमा सिरिज एक खेल अगाडिनै जितेको हो ।

आरोन फिन्च डक, मिचेल मार्श २६, मार्नस लाबुसेन १४, एलेक्स केरी १९, ट्रविस हेड २७ र ग्लेन म्याक्सवेल १ रनमा आउट भए । तल्लोक्रमका क्यामरन ग्रिन १३, प्याट कमिन्स ३५ र कुहनेमान १५ रनमा आउट भए । अष्ट्रेलिया एक समय ३६ ओभरमा १९०÷५ को बलियो अवस्थामा हुँदा जितको लागि १४ ओभरमा ६९ रन मात्र चाहिँएको थियो ।

३७ औं ओभरको दोस्रो बलमा ग्लेन म्याक्सेवल स्पिनर महेश थेक्सनाको बलमा एलबीडब्लू आउट भए । अर्को ओभरमा धनन्जय डि सिल्भाको बलमा वार्नर स्टम्पिङ आउट भएपछि अष्ट्रेलिया समस्यामा परेको थियो । श्रीलंकाका चामिका करुणारत्तने, धनन्जय डि सिल्भा र जेफ्री वान्डरसेले २–२ विकेट लिए ।

त्यसअघि आर प्रेमाडासा स्टेडियम कोलोम्बोमा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंका ४९ ओभरमा २ सय ५८ रनमा अल आउट भयो । श्रीलंकाका चरिथ असलंकाले १ सय ६ बलमा १० चौका र १ छक्कासहित १ सय १० रनको शतकीय इनिङ खेले । असलंकाको यो पहिलो अन्तर्राष्ट्रिय शतक हो ।

श्रीलंकाको सुरुवात भने राम्रो हुन सकेन । ओपनर निरोशन डिक्वेला १, पाथुम निस्संका १३ र कुशल मेन्डिस १४ रनमा आउट हुँदा श्रीलंका ९.५ ओभरमा ३४–३ को अवस्थामा पुगेको थियो । चौथो विकेटका लागि असलंका र धनन्जय डि सिल्भाले १ सय १ रनको शतकीय साझेदारी गर्दै इनिङ उकासेका थिए ।

सिल्भा ६१ बलमा ७ चौकासहित ६० रनमा आउट भए । दसुन शनका ४, दिनुथ विलालेगे १९, चामिका करुणरत्ने ७ र वानिन्दु हसरंगकाले १९ रन बनाए । अष्ट्रेलियाका मिचेल मार्श, प्याट कमिन्स र म्याथ्यु कुहनेमानले २-२ विकेट लिए ।

पहिलो खेलमा अष्ट्रेलिया डकवर्थ लेविस पद्धतिको आधारमा दुई विकेटले विजयी भएको थियो । श्रीलंका दोस्रो खेलमा डकवर्थ लेविस पद्धतिको आधारमा २६ रन र तेस्रो खेलमा ६ विकेटले विजयी भएको थियो । पाँचौं तथा अन्तिम खेल शुक्रबार हुनेछ ।हाम्रो खेलकुदबाट ।

50% LikesVS
50% Dislikes