खेलकुद

नेपालले एसिया कपमा स्थान बनाउन युएईसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी महिला टि२० च्याम्पियनसिप २०२२ को सेमिफाइनलमा आज युएईसँग खेल्दैछ । पहिलो सेमिफाइनलमा नेपाल र युएईबीचको खेल बिहान ८ : १५ मा मलेसियाको किनरारा एकेडेमी ओभलमा सुरुहुनेछ ।

नेपालले युएईलाई हराउन सके एसिया कपको लागि छनोट हुनेछ । एसिया कपमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र थाईल्यान्ड छन् । नेपाल समूह बी को उपविजेता र युएई समूह ए को विजेताको रुपमा सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने भएको हुन् । अर्को सेमिफाइनलमा समूह ए को उपविजेता मलेसिया र समूह बी को विजेता हङकङबीच प्रतिस्पर्धा हुनेछ ।

नेपाल ४ खेलमा ३ मा जित र १ मा हारका साथ समूह बी मा दोस्रो स्थानमा रह्यो । नेपालले पहिलो खेलमा भुटानलाई ५० रन, कुवेतलाई २५ रन र बहराइनलाई ८ विकेटले पराजित गर्यो । हङकङसँग नेपाल ७ विकेटले पराजित हुँदै समूह विजेता बन्ने अवसर गुमाएको थियो ।

युएई र ओमानबीचको खेल वर्षाको कारण नतिजा विहीन बनेको थियो । सिंगापुरलाई १० विकेट र मलेसियालाई ३१ रनले हराएको थियो । कतारलाई १ सय ५३ रनले पराजित गरेको थियो । नेपालले आजको खेलमा बलिङ र ब्याटिङ दुबैमा सानदार प्रदर्शन गर्न आवश्यक छ । विशेषगरि ब्याटिङमा नेपालले यस प्रतियोगितामा खेलेको शैली भन्दा फरक तरिकाले गर्न आवश्यक छ ।

पावर प्लेमा उत्कृष्ट सुरुवात, मध्यक्रममा निरन्तर इनिङ उकास्नु र उत्कृष्ट अन्त्य गर्न आवश्यक छ । नेपालका सीता रानामगर, इन्दु बर्मा र रुविना क्षेत्रीले उत्कृष्ट प्रदर्शन गर्न आवश्यक छ । डली भट्ट, कविता जोशी र अप्सरी बेगमबाट आक्रामक ब्याटिङको आवश्यकता देखिन्छ ।

युएईका शीर्ष तीन ब्याटरले यस पूरै प्रतियोगिता खेलेका छन् । मध्यक्रम र तल्लोक्रम प्रयोग हुन पाएको छैन । उत्कृष्ट सुरुवात गर्दै नेपालले त्यसको फाइदा लिन सक्नुपर्छ । युएईले कतारविरुद्ध पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा १ विकेट गुमाउँदै २ सय १४ रन बनायो ।

युएईकी ओपनर ईशा रोहित ओजाले ६७ बलमा १८ चौका र ३ छक्कासहित १ सय १५ रनको शतकीय इनिङ खेलेकी थिइन् । यो उनको दोस्रो शतक हो । यसअघि उनले बहराइनविरुद्ध गत मार्चमा ७१ बलमा २२ चौका र ६ छक्कासहित १ सय ५८ रनको शतकीय इनिङ खेलेकी थिइन्।

ओजा युएईकी प्रमुख हतियार हुन् । यू–१९ स्टार थ्रीर्थ सतिसले ५५ रनको इनिङ खेलिन् । जारी प्रतियोगितामा उनको दोस्रो अर्धशतक हो । तेस्रो नम्बरकी कविशा ईगोडागे गरि तीन ब्याटरले पूरै प्रतियोगिता खेलेका छन् ।

नेपालका कविता कुँवर र अश्मिना कर्माचार्यको जोडीले उत्कृष्ट सुरुवात दिलाउन सक्नुपर्छ । त्यसलाई स्पिनर संगिता राई र सीताले निरन्तरता दिनुपर्ने हुन्छ । नेपाली ब्याटरले टेस्ट शैलीमा नभएर आधुनिक टि२० शैलीमा आक्रामक ब्याटिङ गर्न सक्नुपर्छ । सामान्य योगफल र प्रदर्शनले भने युएईलाई हराउन कठिन पर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button