खबर

वैदेशिक रोजगारलाई करोडौं ठग्ने नेपाली नै

भूपराज बस्याल
काठमाडौं ।

वैदेशिक रोजगारीको क्रममा दुबई पुगेका करिब एक सय नेपालीलाई त्यहीं व्यवसार गरेर बसेका दुई व्यक्तिले करोडौं रुपियाँ ठगेका छन् ।

ठगिनेमध्ये केहीले प्रमाणसहित ठगलाई पक्राउ गरी कानुनी कारबाही चलाउन माग गरेका छन् । दुबईको अल्कुजअलखेल गेटनजिकै मेस सञ्चालन गर्दैआएका तेह्रथुमका पदम पन्त र पाँचथरकी सम्झना कटुवालले दुबईमा राम्रो व्यवसाय गर्ने र सबैलाई साझेदार राख्ने भन्दै उनीहरूबाट करोडौं ठगेको आरोप पीडित पक्षको छ । फरक–फरक व्यक्तिबाट फरक–फरक समयमा रकम लिएको पीडितहरूको गुनासो छ ।

पैसा लिने दुवैजना सम्पर्कविहीन भएपछि खोजी गर्दै जाँदा अहिलेसम्म उनीहरूबाट ठगिने १६ जना संगठित भई कारबाहीका लागि पहल गरिरहेका छन् ।पीडित सूर्य नेपालीले नेपाल समाचारपत्रलाई जानकारी दिएअनुसार दुबईमा राम्रो व्यवसाय गर्ने भन्दै विभिन्न प्रलोभनमा पारेर उनीहरूले नेपालीबाट १८ हजार दिराम (नेपाली झन्डै साढे पाँच लाख) लिए । ‘पैसा लिएको शुरूशुरूमा सम्पर्कमा हुनुहुन्थ्यो तर पछिल्लो समय सम्पर्कविहीन हुनुहुन्छ । मैले त म मात्रै होला भन्ने ठानेको, ठगिने मजस्तै अरू पनि हुनुहँुदोरहेछ’ – उहाँले भन्नुभयो ।

आफूलाई पैसा दिए व्यवसायमा लगानी गरेर मासिक ५ हजार दिराम (नेपाली झन्डै १ लाख ६० हजार) बोनस दिने आश्वासन दिएर आफूबाट पैसा लिएर गएको अर्का पीडित हिमलाल कुँवरले बताउनुभयो ।कुँवरले भन्नुभयो – ‘विदेशमा ठूलो परिश्रम गरेर कमाएको पैसाको राम्रै प्रतिफल आउला भनेर पैसा दिइयो तर अन्तिममा आएर धोका पाइयो । सबैलाई ठग्ने पूर्व योजनाका साथ पैसा लिइएको अहिले हामी सबैले बुझ्यौं ।’परिश्रममा भरपर्ने नेपालीलाई यस्तै गलत मनसाय भएका व्यक्तिले बेला बेलामा फसाउने गरेको समाचार सुन्ने गरे तापनि आज आफै ठगिनु परेको गुनासो उहाँको थियो । ‘पदम र सम्झना सँगै बस्नुहुन्थ्यो, हामीलाई त बुढाबुढी हौं भनेर चिनाउनुभएको थियो तर अहिले बुझ्दैजाँदा उहाँहरू बुढाबुढी नभएको सुन्नमा आएको छ’ पीडित कुँवरको भनाइ थियो ।

पीडितहरूले नेपाल समाचारपत्रलाई उपलब्ध गराएको विवरणमा आफूहरू ठगिएको र उद्घार गरिदिन स्थानीय अदालतलाई समेत आग्रह गरेका बताएका छन् । पीडितहरूले जानकारी दिएअनुसार अहिलेसम्म सूर्य नेपालीबाट १८ हजार, लीलामाया गुरुङबाट १५ हजार, हिमालाल कुँवरबाट २५ हजार, वसन्तकुमारी राईबाट ६ हजार ७ सय, दुस्मन रानाबाट ८ हजार, कमल रोकायबाट २० हजार, सतीश कुमारबाट १४ हजार, राजीव बस्नेतबाट ४ हजार, निर्मल बलायरबाट २ हजार २ सय, माधव आचार्यबाट २५ हजार, रामचन्द्र ढकालबाट ४ हजार, भोजराज बस्यालबाट १६ हजार र प्रकाश थापाबाट १६ हजार ३ सय लिएर दुवै जना फरार छन् ।

आफूहरू ठगिएको थाहा पाएपछि न्यायको खोजी गर्दै पीडितहरूले दुबईको अदालतमा मुद्दा दर्ता गरेका छन् । बिहीबार दुबईस्थित अदालतमा पुगेर मुद्दा गर्दा गरिएको माधव आचार्यले बताउनुभयो ।newsofnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button