
काँकरभिट्टा । झापाको मेचीनगर नगरपालिकाको ढुंगागिटी रसिद काण्डका बारेमा महालेखा परीक्षकको प्रतिवेदनले ‘फिर्ता नभएका सबै रसिदको आय यकिन गरी राजस्व उठाउन’ निर्देशन दिएको छ ।
मेचीनगर नगरपालिकाले गएको आर्थीक वर्षमा स्थानीय नदीहरुबाट उत्खनन हुने ढुंगागिटी र बालुवाको निकासी कर संकलन गर्न कार्यपालिका सदस्य, वडाध्यक्ष र नगर प्रहरीलाई जिम्मा दिएको थियो ।
तर, नगरपालिकाबाट लगिएका रसिदहरु कर उठाउन प्रयोग भए तापनि ती सबै रसिद र राजस्व नगरपालिकामा बुझाइएको थिएन । यही विषयलाई ‘महालेखा परीक्षकको प्रतिवेदन २०७९’ मा उल्लेख गर्दै सबै रसिदको विवरणसहित नगरपालिकामा नबुझाइएका रसिदको अवस्था यकिन गरी राजस्व असुल गर्न भनेको छ ।
प्रतिवेदनका अनुसार कार्यपालिका सदस्य, वडाध्यक्ष र नगर प्रहरीले नगदी रसिद बुझेर नदीजन्य पदार्थ निकासीको कर संकलन गर्दा सबै रसिदको आय यकिन नगरेको र दोहोरो रसिद नम्बर राखी (एउटै नम्बरका दुई खाले रसिद)मा रकम संकलन गरेको समेत उल्लेख छ ।
नगरपालिकाले आन्तरिक छानविन गर्दा एक सदस्यले १८ लाख ७५ हजार रुपैयाँ कर उठाएको रसिद फिर्ता नगरेको देखिएको र त्यो रकम समेत नगरपालिकाले असुल नगरेको प्रतिवेदनमा उल्लेख छ ।



