
एजेन्सी – फ्रान्सेली विंगर औसमाने डेम्वेले र डच फरवार्ड मेम्फिस डिपाएको गोलमा क्याटलान क्लब बार्सिलोनाले प्रि–सिजनको मैत्रीपूर्ण खेलमा सहज जित हात पारेको छ ।
प्रि–सिजनको लागि अमेरिका भ्रमणमा रहेको बार्सिलोनाले न्यूयोर्क रेड बुल्सलाई २–० ले पराजित गरेको हो । रेडबुल एरिना ह्यारीसन न्यू जर्सीमा आइतबार बिहान भएको खेलको ४०औं मिनेटमा डेम्वेलेको गोलबाट बार्सिलोनाले पहिलो हाफमा १–० को अग्रता लियो ।
उनले राफिन्हाको पासमा गोल गर्न सफल भएका थिए । प्रि–सिजनमा डेम्वेलेको यो चौथो खेलमा चौथो गोल हो । उनले यसअघि युभेन्ट्सविरुद्ध दुई गोल तथा इन्टर मियामीविरुद्ध ६–० को जितमा एक गोल गरेका थिए । रियल म्याड्रिडविरुद्ध भने गोल गर्न सकेनन् ।
८२औं मिनेटमा घरेलु टोली १० खेलाडीमा समेटिन पुग्यो । ड्यानियल इडेलमल सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिए । त्यसपछि ८७औं मिनेटमा परिवर्तित खेलाडी डिपाएले गोल गर्दै बार्सिलोनाको जित पक्का गरे । यसखेलमा न्यूयोर्क रेड बुल्स र बार्सिलोनाले आफ्ना सबै खेलाडीलाई मौका प्रदान गरेको थियो ।
प्रि–सिजनमा बार्सिलोनाको यो पाँचौ खेलमा तेस्रो जित हो । यसअघि बार्सिलोनाले इन्टर मियामी र रियल म्याड्रिडलाई पराजित गर्दा युई ओलोट र युभेन्ट्ससँग बराबरी खेलेको थियो ।हाम्रो खेलकुदबाट ।



