खेलकुद

जर्मनीलाई हराउँदै इंग्ल्यान्ड युरो च्याम्पियन

एजेन्सी – आठपटकको च्याम्पियन जर्मनीलाई अतिरिक्त समयमा पराजित गर्दै इंग्ल्यान्ड पहिलोपटक महिला युरो च्याम्पियनसिपको च्याम्पियन बनेको छ ।

घरेलु मैदानमा इंग्ल्यान्डले जर्मनीलाई अतिरिक्त समयमा २–१ ले पराजित गर्दै पहिलोपटक युरो च्याम्पियन बनेको हो । वेम्वली स्टेडियममा आइतबार राति भएको खेलमा इंग्ल्यान्डको जितमा एला टोन र क्लोइ केलीले गोल गरिन् । जर्मनीकी लिना मागुलले एक गोल फर्काइन् ।

रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ६२औं मिनेटमा एला टोनले गोल गर्दै इंग्ल्यान्डलाई सुरुवाती अग्रता दिलाइन् । उनले केइरा वाल्सको पासमा गोल गर्न सफल भएकी थिइन् ।

७९औं मिनेटमा लिनाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याइन् । त्यसपछि निर्धारित समयमा गोल निस्कन नसक्दा खेल अतिरिक्त समयमा लम्बिएको थियो ।

अतिरिक्त समयको ११०औं मिनेटमा परिवर्तित खेलाडी क्लोइ केलीले गोल गर्दै इंग्ल्यान्डलाई जितसहित पहिलोपटक युरोपको च्याम्पियन बनाइन् । क्लोइ केली ६३औं मिनेटमा बर्थ मिडको स्थानमा मैदानमा प्रवेश गरेकी थिइन् ।

महिला युरोको इतिहासमा तेस्रोपटक फाइनलमा प्रवेश गरेको इंग्ल्यान्डले पहिलोपटक उपाधि जितेको हो । यसअघि इंग्ल्यान्ड सन् १९८४ मा स्वीडेनसँग टाइब्रेकरमा ४–३ ले तथा २००९ मा जर्मनीसँग ६–२ ले पराजित हुँदै उपाधि विमुख बनेको थियो ।

१२औं संस्करण जारी रहँदा जर्मनी नवौंपटक फाइनलमा प्रवेश गरेको जर्मनी यसपटक भने सफल भएन । जर्मनीले यसअघि फाइनल प्रवेश गरेको सबै आठैपटक च्याम्पियन बनेको थियो । जर्मनी १९८९, ९१, ९५, ९७, ०१, ०५, ०९ र १३ को च्याम्पियन हो ।हाम्रो खेलकुदबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button