
मेचीनगर । प्रेस क्लब मेचीनगरको अध्यक्षमा डम्बर बराल सहितको टीम निर्वाचित भएको छ । आज सम्पन्न क्लबको अधिवेशनबाट बराल नेतृत्वको समूह निर्वाचित भएको हो । क्लबको अधिबेशनका अवसरमा मेचीनगरमा कृयाशिल पत्रकारहरु ज्ञानेन्द्र निरौला र युवराज आचार्यलाई पुरस्कृत समेत गरिएको थियो ।मेचीनगर पत्रकारिता पुरस्कार तथा सम्मान पत्रद्धारा निरौला पुरस्कृत भएका थिए भने पत्रकारिता प्रोत्साहन पुरस्कारबाट आचार्य पुरस्कृत बनेका थिए। क्लबका अध्यक्ष लक्ष्मी उप्रेतीको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकी, विशिष्ठ अतिथि उप्र प्रमुुख मिना उप्रेती र वडा नं ६का वडा अध्यक्ष ललितबहादुर तामाङ्ग रहेका थिए ।
कार्यक्रममा क्लबमा आबद्ध पत्रकार , जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । आगामी दुई वर्षै कार्यकालका लागि भएको निर्वाचनमा अध्यक्षमा डम्बर बराल, उपाध्यक्ष जी आर धिताल, सचिव देवु बानियाँ, सह सचिव दिलिप थापा निर्वाचन प्रणालीबाट निर्वाचित भएका थिए भने समावेशी उपाध्यक्षमा रीता दाहाल, कोषाध्यक्षमा बिनिसा शर्मा र सदस्यहरुमा विकास देवकोटा, नेहाल दर्जी, होमराज राई, सुजन प्रधान ,विश्वास दाहाल र गगन ढकाल चयन भएको बराल नेतृत्वको समूहका नेतृत्वकर्ता मुक्ति पौडेलले बताए ।

क्लबको कार्यसमिति सदस्यका लागि उम्मेदवारी परेको भए पनि आँकाक्षीहरु बीच मतदान गर्नु नपरेको पौडेलले बताए । पत्रकारहरुको साझा संस्थाको रुपमा रहेको प्रेस क्लब मेचीनगरको यो निर्वाचनमा अप्रत्यक्ष रुपमा एमाले निकट प्रेस चौतारी र सत्ता साझेदार गठबन्धनको छायाँ भने झल्केको देखिन्थ्यो ।




