खेलकुद

मेस्सी र नेयमार चम्कदा पिएसजीको सानदार सुरुवात

एजेन्सी – अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीले दुई गोल र एक असिस्ट तथा ब्राजिली फरवार्ड नेयमारले तीन असिस्टसँगै एक गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले नयाँ सिजनको फ्रेन्च लि वानमा सानदार सुरुवात गरेको छ ।

पिएसजीले घरेलु टोली क्लेरमन्ट फुटमाथि ५–० को सानदार जितसहित नयाँ सिजनमा सुखद् सुरुवात गरेको हो । थप दुई गोल अचरफ हाकिमी र कप्तान मार्किन्हसको नाममा रह्यो ।

गाब्रियल मोन्ट पाएड स्टेडियम क्लेरमन्टमा शनिबार राति भएको एकपक्षीय खेलमा पिएसजीले पहिलो हाफमा तीन तथा दोस्रो हाफमा दुई गोल थपेको थियो।

खेलको नवौं मिनेटमा नेयमारले मेस्सीको पासमा गोल गर्दै गोलको खाता खोले । २६औं मिनेटमा अचरफ हाकिमीले नेयमारको पासमा गोल गर्दै अग्रता दोब्बर पारे । ३८औं मिनेटमा कप्तान मार्किन्हसले नेयमारकै पासमा गोल गरेपछि पिएसजीले पहिलो हाफमा ३–० को आरामदायी अग्रता लिन सफल भयो।

पिएसजी यतिमै रोकिएन । दोस्रो हाफको दुवै गोल मेस्सीको नाममा रह्यो । ८०औं मिनेटमा नेयमारको ह्याट्रिक असिस्टमा मेस्सीले गोल गरेपछि पिएसनी फराकिलो जिततर्फ अग्रसर बन्यो ।

८६औं मिनेटमा मेस्सीले लियान्द्रो ड्यानियल पारेडेसको पासमा व्यक्तिगत दोस्रो र टोलीका लागि पाँचौैं गोल गर्दै पिएसजीलाई सानदार जित दिलाए । ग्रोइन इन्ज्युरीका कारण यस खेलमा फ्रान्सेली युवा स्टार केलियन एमबाप्पे टोलीमा थिएनन् ।

बलियो पिएसजीविरुद्ध क्लेरमन्ट फुटले काउन्टर अट्याकमा रणनीति बुनेपनि सफल हुन सकेन । यो जितसँगै पिएसजीले ३ अंक जोडेको छ । क्लेरमन्टले अंक जोड्न सकेको छैन । मोनाको र लियोनले पनि विजयी सुरुवात गरेका छन् ।हाम्रो खेलकुदबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button