काठमाडौं (हाम्रो खेलकुद) – युवा ओपनर कुशल भुर्तेल र विकेटकिपर विनोद भण्डारी नेपाली क्रिकेट टोलीबाट बाहिरिएका छन् । नेपालले अर्को महिना सुरुवातमा केन्यासँग खेल्ने पाँच टि२० आई र तीन एकदिवसिय अभ्यास टोली घोषणा गर्दा कुशल र विनोद बाहिरिएका हुन् ।
कुशल नेपाली क्रिकेट टोलीबाट झण्डै डेढ वर्षपछि बाहिरिएका हुन् । २०७८ को बैशाखमा (२०२१ अप्रिल) कुशलले नेदरल्यान्ड्स र मलेसियाविरुद्ध टि२० आई त्रिकोणात्मक सिरिजमार्फत डेब्यू गरेका थिए । कुशलले डेब्यू टि२० आईमै नेदरल्यान्ड्सविरुद्ध डेब्यू गर्दै अर्धशतक हानेका थिए । कुशल डेब्यूको सुरुवाती तीन टि२० आई खेलमा अर्धशतक प्रहार गर्ने विश्वकै पहिलो खेलाडी समेत हुन् ।
उक्त सिरिजमा पाँच मध्य ४ खेलमा अर्धशतकका साथ २ सय ७८ रन बनाउँदै उनी प्लेयर अफ द सिरिज बनेका थिए ।त्यसपछि उनी लगातार नेपाली क्रिकेट टोलीको हिस्सा बनेका थिए । गतवर्ष सेप्टेम्बरमा ओमानमा पपुवा न्युगिनीविरुद्ध कुशलले ओडिआईमा डेब्यू गरेका थिए ।

त्यसपछि नेपालले कुशल र आसिफलाई लगातार टोलीमा राख्दै आएको थियो । यद्यपी चोटका कारण कुशलले गत जुनमा ओमानसँग पहिलो खेल अमेरिकामा गुमाएका थिए । गत फेब्रुअरीमा चार देश सम्मिलित टि२० आई सिरिजमा कुशलले सुरुवाती दुई खेल गुमाएका थिए ।
कुशलले १९ ओडिआई खेलमा ३ अर्धशतकसहित २०.२६ को औसतमा ३ सय ८५ रन बनाएका छन् । पछिल्लो समय स्कटल्यान्ड भ्रमणमा कुशलले २७, २७, ० र ३ रनमा आउट भएका थिए । त्यसअघि अमेरिका भ्रमणमा पनि कुशल १९, ५६ र १० रनमा आउट भएका थिए ।
कुशलको सट छनोटलाई लिएर लगातार आलोचना हुँदै आएको छ । कुशल सुरुवातमै गैरजिम्मेवार सटका साथ आउट हुँदै आएका थिए । अर्कोतर्फ अनुभवी खेलाडी टोलीमा आवश्यक परेपछि ज्ञानेन्द्र मल्ललाई मौका दिँदै कुशललाई बाहिरि राखेको हो । कुशल टि२० खेलाडी मात्र भएको आलोचना पनि हुने गर्दछ ।

विकेटकिपर विनोद भण्डारीलाई भने पछिल्लो समय नेपालले विकल्पको रुपमा राख्दै आएको थियो । भण्डारीले पछिल्लो समय नेपाली टोलीमा नियमित स्थान बनाउन सकेका छैनन् । मौका पाएको खेलमा पनि आफूलाई प्रमाणित गर्न सकेका छैनन् । उनको स्थान पाएका युवा विकेटकिपर अर्जुन साउद भने विष्फोटक ब्याटिङ गर्दछन् । अर्जुन विकेटकिपरसँगै तल्लोक्रममा राम्रो इनिङ खेल्ने गर्दछन् । अर्जुन भने पहिलो पटक टोलीमा परेका हुन् ।
त्यस्तै विवेक यादव र साहब आलमले पनि पूनरागमन गरेका छन् । विवेक नेपाली घरेलु क्रिकेटका उत्कृष्ट अलराउन्डर हुन् । तर मौका भने पाउन सकेका थिएनन् । विवेक गत फेब्रुअरीमा टि२० विश्वकप छनोटपछि मौका पाएका थिएनन् । टोलीमा रहेपनि खेल्ने मौका पाएका थिएनन् । साहब आलमले पछि फेब्रुअरी पछिनै टोलीमा पूनरागमन गरेका हुन् ।
केन्या र नेपालबीचको खेल तालिका
पहिलो टि२० आई खेल – भदौ ९ (अगष्ट २५)
दोस्रो टि२० आई खेल – भदौ १० (अगष्ट २६)
तेस्रो टि२० आई खेल – भदौं १२ (अगष्ट २८)
चौथो टि२० आई खेल – भदौं १३ ( अगष्ट २९)
पाँचौं टि२० आई खेल – भदौं १४ (अगष्ट ३०)
तीन एकदिवसिय अभ्यास खेल
पहिलो खेल – भदौ १७ (सप्टेम्बर २)
दोस्रो खेल – भदौ १८ (सप्टेम्बर३)
तेस्रो खेल – भदौ २० (सप्टेम्बर ५)
पूर्व कप्तान ज्ञानेन्द्र राष्ट्रिय टोलीमा फर्किए



